लक्ष्मीप्रसाद कोइराला
गाउँमा
मान्छे बढेछन्।
केही मान्छे घटेछन्।
प्लटिङ,जेन्डिस र भाइरल
महामारी बनेछन्।
विकासहरु
बेरोजगारी नहुन
विदेश छिरेछन्।
पशु डाक्टरहरु
गाउँगाउँ आउनु पर्ने
शहर बस्दा रहेछन्
अनि पशुचौपायाहरु
खोरेतले मर्दा रहेछन्।
तर अलिकति तल्तिरबाट
मन्सुर,चाचा र डफेदारहरु
साइकलमा घुम्दै आउदा रहेछन्।
मम्फुली र सुनपाप्री बेचेर
केटाकेटीलाई
मख्खै पार्दा रहेछन्।
खुत्त्रुके फुटाउन लगाएर भएपनि
पैसा लट्याउँदा रहेछन्।
थानचौरीकी बुध्नी चौधरीले
ढिकी बेचिछन् ।
जातो बेचिछन् ।
ओख्ली पनि बेचिछन्।
अनि जितिया र माघी पाब्नीमा
भक्का र बगिया नपकाउने भइछन्।
बेचनको चियापसल
रातेपैनीको डिलमै रहेछ।
गएको भेलबाढी पसेर
झन् जिर्ण भएछ।
कुनै चाउचाका पोकाहरु
राहत बनेर आएनछ्न्।
तैपनि धेरै मान्छेहरु
आफ्नो गाउँको
सोल्टी होटल सम्झेर
चिया पिउन आउँदा रहेछन।
बेचन्नी बूढी भाउजूले
काँचको गिलासमा
मेहनत घोट्ती रहिछ्न्।
सबैले त्यसलाई पिउँदा रहेछन्।
अनि गफिदा रहेछन्।
तर्क गर्दा रहेछन्।
तर बहस गर्न
भुल्दा रहेछन्।
मैले सुनेको थिएँ
त्यो पाँचतारे होटलको
एक गिलास धमिलो चियामा
मान्छेको आदर्श किनबेच हुन्छ रे!
जस्तो दमकको पशुहाटमा
बोका किनिन्छ।
गोरु किनिन्छ।
अनि खरिदबिक्री गरिन्छ।
त्यस्तो त्यहाँ पाइन।
तर सदरमुकाम तिरका
रावण्ड टेबुलको मिटिङ्ममा
खै के हुन्छ ??
त्यो मलाई थाहा भएन।
ठाउँको नाम
बयरवन भएपनि
बयरका बोटहरु
त्यहाँ अहिले रहेनछन्
सबै काटिएछन्।
कौसीखेती चलाउने
मुन्डा घर भएछन्
धमकुवाकी धिमाल्नी जेठीले
चलाएको पोनाउद्योग
सियो र धागाको अभावले
नाकाबन्दीसगै बन्द गरिछन्।
झोडा आन्दोलनको
इतिहास बोकेको
रमाइलो झोडा
झोडा रहेनछ।
शहर भएछ।
तर नगरपालिका भएनछ।
अमिनी सूर्यहरु
विवादित सिमाक्षेत्रको
भूगोलनक्शा कोर्न छोडेर
राजनीतिमा होमिएछन्।
जनताको अभिमत नपाउँदा
चुनावमा हारेछ्न्।
स्थानीय गोल्छे सार्कीहरु
जन्मघर र पूर्ख्यौलीपेशा छोडेर
बिनाविभागिय
स्थानीय मन्त्री हुन
छिर्के लाउदै
कुद्धा रहेछन् ।
मैले पढेको स्कुलमा
राजनीति रहेछ।
समाजशास्त्र रहेनछ।
एच्छिक अङ्ग्रेजी रहेछ।
अर्थशास्त्र रहेनछ।
भूगोल रहेछ।
जङ्गेपिल्लर रहेनछ।
त्यसपछि घर पुगें।
परिचयपत्र हेरें।
ठेगाना बदलिएछ।
किनकि
मेरो गाउँमा
सङ्घियता र विकास
झोलीगुन्टा बोकेर
आउदै रहेछ!
बास् सुने मात्र!!
प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६
प्रकाशित समय: २१:२४:५७