काठमाडौं, १५ वैशाख २०८३ । उच्च अदालत पाटनले ‘लाली बजार’ नामक चलचित्रको प्रदर्शन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। रोशनी नेपालीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले बैशाख २२ गतेसम्म चलचित्र सार्वजनिक रूपमा प्रदर्शन नगर्न आदेश दिएको हो।
चलचित्र निर्देशक यम थापाद्वारा निर्माण गरिएको ‘लाली बजार’ बैशाख १८ देखि प्रदर्शनमा ल्याउने तयारीमा थियो। चलचित्रको प्रिमियर शो समेत तय भइसकेको अवस्थामा अदालतको आदेश आएको हो।
आदेशमा चलचित्रका केही विषयवस्तुले समुदायको इज्जत, प्रतिष्ठा तथा आत्मसम्मानमा आघात पुर्याउन सक्ने, साथै घृणा वा वैमनस्यता फैलाउने सम्भावना देखिएको उल्लेख गरिएको छ। त्यसै आधारमा निवेदकलाई अपूरणीय क्षति पुग्न सक्ने भन्दै “सुविधाको सन्तुलन” का आधारमा प्रदर्शन रोकिएको अदालतले जनाएको छ।
यसअघि सर्वोच्च अदालतले पनि जातीय भेदभाव वा घृणात्मक अभिव्यक्तिसँग सम्बन्धित सामग्रीमा नियमनकारी भूमिका प्रभावकारी बनाउन चलचित्र विकास बोर्डलाई निर्देशन दिएको थियो।
‘लाली बजार’ चलचित्र वादी समुदायका महिलाको संघर्षमा आधारित रहेको निर्माण पक्षले जनाएको छ।






