काठमाडौं, १८ वैशाख २०८३ । विदेशमा रहेका नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद बढाउन र सूचना प्रवाह तथा समस्या समाधानलाई प्रभावकारी बनाउन अब विदेशस्थित नेपाली दूतावासहरूले साप्ताहिक रूपमा फेसबुक तथा टिकटक लाइभ कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै यस्तो व्यवस्था लागू गरिएको जानकारी दिएका छन् । उनका अनुसार विदेशस्थित दूतावासमा कार्यरत श्रम सहचारी तथा कन्सुलरहरूले हरेक साता एक पटक फेसबुक र टिकटकमार्फत प्रत्यक्ष (लाइभ) संवाद गर्नेछन् ।
यसअघि मलेसिया, साउदी अरब लगायत केही देशका दूतावासहरूले आंशिक रूपमा फेसबुक लाइभ गर्दै आएका थिए। तर अबदेखि यो सेवा औपचारिक रूपमा नियमित र संरचित रूपमा सबै सम्बन्धित दूतावासहरूमा विस्तार गरिनेछ ।
सरकारले “अब तपाईंहरू जहाँ हुनुहुन्छ, सरकार तपाईंसँगै छ” भन्ने भावनासहित यो योजना अघि बढाएको मन्त्री यादवको भनाइ छ । यस पहलले विदेशमा रहेका नेपाली श्रमिकका गुनासो, समस्या र जानकारी आदान–प्रदानलाई अझ सहज बनाउने अपेक्षा गरिएको छ ।






