काठमाडौं, १८ वैशाख २०८३ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका २०८२’ जारी गरेको छ । यस निर्देशिकाअनुसार अब किसानले बाली रोप्नुअघि नै प्रमुख कृषि उपजहरूको न्यूनतम समर्थन मूल्य (एमएसपी) बारे जानकारी पाउने भएका छन् ।
निर्देशिकाले धान (बर्खे र चैते), मकै, गहुँ, कोदो लगायत प्रमुख बालीहरूको मूल्य निर्धारण प्रक्रिया व्यवस्थित बनाउने व्यवस्था गरेको छ । यसले किसानलाई बाली छनोट, उत्पादन योजना तथा बजार जोखिम व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको छ ।
सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्दै कृषि उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले यो निर्देशिका ल्याएको हो । मन्त्रालयका अनुसार मूल्य निर्धारणका लागि बालीअनुसार निश्चित कार्यतालिका समेत तोकिएको छ ।
उखुका लागि ३० भदौसम्म फिल्ड सर्वेक्षण तथा तथ्यांक संकलन गरी १५ असोजसम्म विश्लेषण प्रतिवेदन तयार पारिनेछ भने ३० कात्तिकभित्र अन्तिम सिफारिस पेश गरिनेछ ।
त्यस्तै गहुँका लागि ३० साउनसम्म सर्वेक्षण सम्पन्न गरी १५ भदौसम्म प्रतिवेदन तयार गर्दै ३० असोजभित्र अन्तिम सिफारिस गर्ने व्यवस्था गरिएको छ ।
चैते धान, वर्षे धान, वर्षे मकै र कोदोका हकमा पनि मंसिरदेखि वैशाखसम्म विभिन्न चरणमा अध्ययन, विश्लेषण र सिफारिस प्रक्रिया सम्पन्न गरिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यस व्यवस्थाले कृषि उत्पादन लागतमा हुने उतारचढाव घटाउने, मूल्य जोखिम न्यूनीकरण गर्ने तथा किसानलाई न्यूनतम नाफा सुनिश्चित गरी कृषि पेसामा आकर्षण बढाउने अपेक्षा गरिएको छ ।
खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन २०७५ को दफा ४७ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले यो निर्देशिका जारी गरेको हो ।






