Online Bichar
बिहिबार, भाद्र ०४, २०८३ | Thursday, August 20, 2026

काठमाडौं, ४ भदौ २०८३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राहदानी (पासपोर्ट) प्रकरणमा पर्याप्त कैफियत देखिएकाले नै आयोगले मुद्दा दर्ता गरेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले यस्तो बताएका हुन् ।

बैठकमा अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा लगेर थुनेको विषयको उठान भएपछि राईले प्रधानमन्त्रीले छलफल र सुझावका लागि बोलाउनु स्वाभाविक भएको बताए । सो क्रममा आफूहरूले आवश्यक सुधारका लागि सुझाव दिएको बताए ।

प्रमुख आयुक्त राईले सो प्रकरणमा अभियोजन भइसकेकाले विस्तृत विवरण आयोगको वेबसाइटमा उपलब्ध रहेको उल्लेख गरे ।

सो विषय हाल कानुनी प्रक्रियामा गइसकेकाले आफूले थप विस्तृत टिप्पणी गर्न आवश्यक नरहेको उनको भनाइ छ । आयोगले प्रमाणका आधारमा मात्रै अभियोजनको निर्णय लिएको दाबी उनले गरे ।

यस्तो छ अख्तियार प्रमुख राईको भनाइ :

पासपोर्टको विषयमा प्रधानमन्त्रीज्यूले सम्बन्धित पक्षलाई छलफल र सुझावका लागि बोलाउनुभएको हुनसक्छ । हामी पनि त्यसैगरी छलफलमा सहभागी भएका हौँ । छलफलपछि सुधार गर्नुपर्ने विषय पहिचान भयो र त्यसअनुसार केही सुधार पनि गरियो । यस विषयमा मुद्दा दर्ता भइसकेको र अभियोजनसमेत भइसकेकाले अब त्यसको कानुनी पक्ष सम्बन्धित निकायले नै हेर्ने विषय हो । अभियोजनपत्रमै के–कस्ता कैफियतका आधारमा मुद्दा अघि बढाइएको हो भन्ने स्पष्ट उल्लेख हुन्छ । त्यसैले त्यसमा अनावश्यक रूपमा थप प्रवेश गर्न म चाहन्नँ । अभियोजन बिनाआधार वा कैफियतबिना अघि बढाइएको होइन भन्ने कुरा सम्बन्धित कागजात हेर्दा स्पष्ट हुन्छ । न्युज एजेन्सी नेपाल

 

तपाईको प्रतिक्रिया