Online Bichar
शुक्रबार, आश्विन २३, २०८३ | Friday, October 9, 2026

काठमाडौं, २३ असोज २०८३ । सरकारले चाडपर्वका बेला स्वास्थ्य, खानेपानी, विद्युत्, दूरसञ्चार, विमानस्थल, यातायात र अस्पताललगायत अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस ब्रिफिङको आयोजना गर्दै सो निर्देशन दिइएको जनाएको हो ।

प्रेस ब्रिफिङमा बोल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले चाडपर्वका बेला अत्यावश्यक सेवामा अवरोध हुन नदिन आवश्यक जनशक्ति, औषधि र उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिइएको बताए ।

उनका अनुसार, नागरिकलाई अत्यावश्यक सेवा लिन अनावश्यक सास्ती नदिन समेत निर्देशन दिइएको छ । यसैगरी सरकारले स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन गर्न लगानीसम्बन्धी सेवालाई सरल, पारदर्शी, समयवद्ध र पूर्वानुमानयोग्य बनाउन कार्यविधिको मस्यौदा तयार भइरहेको प्रवक्ता अर्यालले बताए ।

स्वेदशी तथा विदेशी लगानी अभिवृद्धि गर्ने उद्देश्यले ‘राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली सञ्चालन तथा व्यवस्थापन कार्यविधि’को मस्यौदा तयार भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए ।

‘स्वास्थ्य, खानेपानी, विद्युत्, दुरसञ्चार, विमानस्थल, यातायात, अस्पताल तथा अन्य अत्यावश्यक सेवाहरूमा चाडपर्वको बेला पनि निरन्तर रूपमा सेवा सञ्चालन गर्नको लागि आवश्यक जनशक्ति, औषधि, उपकरण तथा आकस्मिक सेवा तयारी अवस्थामा राख्ने र नागरिकलाई अत्यावश्यक सेवाका लागि अनावश्यक सास्ती नदिने भन्ने निर्णय भएको छ,’ उनले भने ।

उक्त कार्यविधिले लगानी प्रक्रियालाई व्यवस्थित र सहज बनाउँदै स्वदेशी तथा विदेशी लगानी वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको प्रवक्ता अर्यालको भनाइ छ । न्युज एजेन्सी नेपाल

तपाईको प्रतिक्रिया