काठमाडौं, ८ मंसिर २०८३ । प्रधानमन्त्री वालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा शुभारम्भ गरिएको अयोध्याधाम–जनकपुरधाम रेल मंगलबार जनकपुरधाम आइपुगेको छ ।
सोमबार भारतको हैदरावाद हाउसबाट नेपाल र भारतका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर शुभारम्भ गरेको सरयू–कमला एक्सप्रेस रेल मंगलबार बिहान जनकपुरधाम आइपुगेको हो ।
उक्त रेलमार्फत नेपाल आएका यात्रुहरूलाई मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघीय श्रममन्त्री रामजी यादव तथा जनकपुरधाम उपमहानगरपालिका, स्थानीय प्रशासन, जनकपुरधाम उद्योग वाणिज्य संघ लगायतका प्रतिनिधिहरूले स्वागत गरेका थिए । बटुकहरूले स्वस्तिवाचन गरी धार्मिक यात्रामा आएका यात्रुको स्वागत गरेका थिए ।
हप्तामा एक दिन सञ्चालन हुने यस रेल सेवाले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको श्रममन्त्री रामजी यादवले बताए । उनले हजारौँ वर्षदेखिको राम–जानकीको कथाअनुसार दुवै पवित्र धामलाई जोड्ने रेल सेवा सुरु भएसँगै दुवै देशको साझा इतिहास, साझा संस्कृति र जनस्तरको आत्मीय सम्बन्ध थप प्रगाढ भएको बताए ।
जनकपुरधाममा हरेक वर्ष धुमधामसँग मनाइने विवाहपञ्चमी महोत्सव नजिकिँदै गर्दा अयोध्याबाट जनकपुर आउने श्रद्धालु तथा भक्तजनलाई रेल सेवामार्फत आउन अझ सहज हुने उनको भनाइ छ । हिमालयन टेलिभ्वाइस






