दमक, ४ भदौ २०८३ । झापाको दमकमा तीन दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील अग्रज पत्रकार विष्णु सुब्बा सम्मानित भएका छन्।
सामाजिक अभियानमा सक्रिय जीवनचक्र समाज नेपालले आफ्नो आठौँ वार्षिकोत्सव तथा साधारणसभाको अवसर पारेर पत्रकार सुब्बालाई सम्मान गरेको हो।
दमक–६ स्थित संस्थाको कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका पूर्वसभापति तथा कार्यक्रमका प्रमुख अतिथि लीला गुरागाईंले पत्रकार सुब्बालाई सम्मानपत्र प्रदान गरेका थिए। सामाजिक अभियान, पत्रकारिता र समाजमा पुर्याएको योगदानको कदरस्वरूप सुब्बालाई सम्मान गरिएको हो ।
कार्यक्रममा जीवनचक्र समाज नेपालका अध्यक्ष गणेशप्रसाद गौतम (जीपी) ले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले संस्थाले स्थापना भएदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न सचेतनामूलक तथा सेवामूलक अभियान सञ्चालन गर्दै आएको बताए।
जीवनचक्र समाजले विशेषगरी सडक दुर्घटना न्यूनीकरण, रक्तदान अभियान, लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना, सामाजिक विकृति न्यूनीकरण तथा युवामाझ सकारात्मक सोचको विकास लगायतका क्षेत्रमा अभियान सञ्चालन गर्दै आएको छ । संस्थाले आगामी दिनमा पनि समुदायमा प्रत्यक्ष प्रभाव पार्ने सामाजिक अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने अध्यक्ष गौतमले प्रतिवद्धता जनाए ।
वार्षिकोत्सवकै अवसरमा संस्थाको अभियानमा सक्रिय योगदान पुर्याएको भन्दै दमकस्थित आस्था कलेज जीवनचक्र युनिटकी संयोजक पूजा चम्लागाई र सदस्यद्वय तृष्णा कार्की र सन्ध्या पराजुलीलाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो। सामाजिक अभियानमा युवाको सहभागिता बढाउने उद्देश्यले विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप प्रशंसापत्र प्रदान गरिएको संस्थाले जनाएको छ ।






