काठमाडौं, ४ भदौ २०८३ । केहीदिन अघि राष्ट्रिय अनुसन्धान विभाग ‘गुप्तचर’का एक अधिकारीलाई फोन आयो – “हाम्रो दिदी कुवेतमा बन्धक जीवन भोगिरहेकी छन् । तपार्ईंहरूमार्फत प्रधानमन्त्री कार्यालयसम्म सूचना पुर्याएर उद्धार हुन्छ की भनेर सम्पर्क गरेका हौँ ।’’
विभागका अधिकारीको सम्पर्कमा पुगेका ती युवाले आफ्नो दिदी बन्धन बनाएको कुवेतको लोकेसन समेत जानकारी गराए । गुप्तचरका ती अधिकारीले कुवेतमा नेपाली महिला बन्धक गरिएको र चरम शोषणमा परेको जानकारी प्रधानमन्त्री कार्यालयको टिमलाई गरायो ।
सोही जानकारीपछि सरकारले ती महिलाको उद्धार गरेर शनिबार (साउन ३०) नेपाल ल्याउन सफल भयो । उनलाई मानव तस्कर गर्ने समूहले सुरुमा भिजिट भिसामा ओमान पुर्याएका थिए । त्यहाँबाट घरेलु कामदारका रूपमा कुवेत पठाएको खुलेको छ ।
नेपाल आएपछि प्रहरीले ती महिलामाथि सोधपुछ गर्यो । सोहीक्रममा महिलालाई ओमान पठाउने समूहमाथि अनुसन्धान गर्यो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले त्यसबारे अनुसन्धान थालेको थियो । कार्यालयको अनुसन्धानका क्रममा ती महिलालाई कुवेत पठाउने गिरोहमध्ये एकजनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा झापाकी ममता चापागाईं रहेको कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिए । चापागाईंलाई कार्यालयले थप अनुसन्धानका लागि प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरो पठाएको एसएसपी खड्काले बताए । “कुवेतबाट उद्धार गरेर नेपाल फर्काएकी महिलालाई सोधपुछ गर्दा ममताको संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिएका हौँ, थप नौजनालाई पनि उनले कुवेत पठाउन तयारी अवस्थामा राखेको खुलेको छ,” उनले भने ।
आरोपी पक्राउ परेलगत्तै उनकै समूहले अन्य धेरै नेपाली महिलालाई भिजिट भिसाका नाममा कुवेतमा मानव तस्करी गराएको खुलाएको छ ।
काठमाडौंबाट नौजनाको उद्धार
प्रहरीले अनुसन्धानका क्रममा काठमाडौंको एक घरमा सेल्टर दिएर राखेका नौजनाको उद्धार गरेको छ । उनीलाई मानव तस्करी गर्ने गिरोहले शुक्रबार ९भदौ ५०को ओमानको टिकट भन्दै काठमाडौंको टोखाको एक घरमा सेल्टर दिएर राखेका थिए ।
कार्यालयको टोलीले बुधबार (भदौ ३) राति नौ महिलाको उद्धार गरेर हो । प्रहरीले उनीहरूलाई पठाउने गिरोहबारे अनुसन्धान अघि बढाएको छ । कार्यालयका अधिकारीका अनुसार, विभिन्न जिल्लाका सामान्य लेखपढ समेत गर्न नसक्ने महिलाहरूलाई गिरोह समूहले फ्रि–भिसाका नाममा ओमान र त्यहाँबाट कुवेत पठाउने योजना बनाएको पाइएको हो ।
प्रहरीको अनुसन्धानका क्रममा कुवेत पुगेपछि भने घरेलु कामदारमा राख्ने मालिकहरूले नेपाली मानव तस्करीमा संलग्नहरूलाई मोटो रकम दिने गरेका छन् ।
आर्थिक प्रभावमा परेर मानव तस्करी गर्ने गिरोहले नेपाली महिलालाई श्रमस्वीकृत नभएको कुवेतमा घरेलु कामदारका रूपमा बिक्री गराउने गरेको खुलेको हो ।






