एजेन्सी, ४ भदौ २०८३ । डेँगी, मलेरिया, चिकनगुनियालगायत लामखुट्टेको टोकाइबाट सर्ने रोग नियन्त्रणका लागि स्थानीय तहहरूले फगिङ अर्थात् धुवाँ हान्ने विधि प्रयोग गर्दै आएका छन् ।
लामखुट्टे नियन्त्रणका लागि प्रभावकारी मानिने यो विधि स्वास्थ्यका दृष्टिले पूर्ण रूपमा जोखिमरहित भने छैन । विशेषगरी फोक्सोसम्बन्धी रोग भएका व्यक्ति, दमका बिरामी, वृद्धवृद्धा, बालबालिका तथा अन्य संवेदनशील व्यक्तिले फगिङको धुवाँ प्रत्यक्ष रूपमा सासबाट भित्र लिएमा समस्या बढ्न सक्ने चिकित्सकहरू बताउँछन् ।
लामखुट्टे भगाउने धुवाँका कारण भारतको तमिलनाडुमा दुईजनाको मृत्यु भएको दाबी सार्वजनिक भएपछि फगिङमा प्रयोग हुने रसायन र त्यसबाट मानव स्वास्थ्यमा पर्न सक्ने असरबारे पुनः बहस सुरु भएको छ । यद्यपि, ती दुईजनाको मृत्यु फगिङकै कारण भएको पुष्टि भने भएको छैन । स्वास्थ्य अधिकारीहरूको छानबिनमा दुवै व्यक्ति पहिले नै गम्भीर स्वास्थ्य समस्याबाट पीडित रहेको देखिएको थियो ।
तर, यस घटनाले एउटा प्रश्न भने उठाएको छ– लामखुट्टे नियन्त्रणका लागि प्रयोग गरिने धुवाँमा आखिर के हुन्छ र यसले मानिसको स्वास्थ्यमा कस्तो असर पार्न सक्छ ?
फगिङको धुवाँमा के हुन्छ ?
जनरल प्राक्टिसनर डा. आदित्यन कुगनका अनुसार वर्षाको मौसममा लामखुट्टे नियन्त्रणका लागि फगिङ मेसिनमार्फत विभिन्न कीटनाशक प्रयोग गरिन्छ । भारतमा मट्टितेल वा डिजेलमा पाइरेथ्रोइड तथा म्यालाथियनजस्ता कीटनाशक मिसाएर धुवाँका रूपमा फैलाउने गरिएको उनले बताएका छन् ।
फगिङ मेसिनबाट निस्कने धुवाँ सामान्य धुवाँ मात्र होइन । यसमा कीटनाशकका सूक्ष्म कण तथा प्रयोग गरिएको इन्धनबाट उत्पन्न हुने पदार्थ मिसिएका हुन्छन् । यी कण हावामा फैलिँदा मानिसले सास फेर्ने क्रममा शरीरभित्र प्रवेश गर्न सक्छन् ।
सामान्य अवस्थामा फगिङमा प्रयोग गरिने कीटनाशकको मात्रा सीमित हुने भएकाले यसको प्रभाव पनि सीमित हुने अपेक्षा गरिन्छ । तर, अत्यधिक मात्रामा धुवाँको सम्पर्कमा आउँदा वा बन्द कोठाभित्र धुवाँ जम्मा हुँदा स्वास्थ्य जोखिम बढ्न सक्छ ।
विशेषगरी पहिले नै फोक्सो कमजोर भएका व्यक्तिका लागि यस्तो धुवाँ बढी समस्याजनक हुन सक्छ ।
डा.कुगनका अनुसार फोक्सोको समस्या भएका मानिस, दमका बिरामी तथा वृद्धवृद्धाले फगिङको धुवाँ धेरै मात्रामा सासबाट भित्र लिएमा फोक्सोमा गम्भीर असर पर्न सक्छ ।
धुवाँसँगै कीटनाशकका सूक्ष्म कण फोक्सोमा पुगेपछि श्वासप्रश्वासमा समस्या, खोकी, घाँटी पोल्ने, छाती भारी हुने तथा सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन सक्छन् । पहिले नै दम वा सीओपीडीजस्ता रोग भएका व्यक्तिमा यस्तो सम्पर्कले रोगका लक्षण थप बढाउन सक्छ ।
अन्नूर घटनामा मृत्यु भएकी एक महिला सीओपीडी र दमबाट पीडित रहेको स्वास्थ्य अधिकारीहरूले बताएका थिए । उनी घरमै सीपीएपी भेन्टिलेटरको सहायतामा रहेको बताइएको थियो ।
यस्तो अवस्थामा फोक्सोको क्षमता पहिले नै कमजोर हुने भएकाले बाहिरी वातावरणमा अचानक थप धुँवा तथा रासायनिक कणको सम्पर्कमा आउँदा श्वासप्रश्वासको समस्या बढ्न सक्ने चिकित्सकहरू बताउँछन् ।
डा। कुगनका अनुसार यदि कुनै व्यक्तिको रगतमा अक्सिजनको मात्रा पहिले नै ८५ देखि ८८ प्रतिशतको आसपास छ भने त्यस्तो व्यक्तिले बाक्लो रसायनयुक्त धुआँ सासबाट भित्र लिएमा स्वास्थ्यमा थप गम्भीर असर पर्न सक्छ । फगिङको धुँवाको असर केवल फोक्सोमा सीमित नहुने सक्ने चिकित्सकहरू बताउँछन् ।
डा। कुगनका अनुसार अत्यधिक मात्रामा कीटनाशकयुक्त धुवा सासबाट शरीरभित्र प्रवेश गर्दा स्नायु प्रणालीमा समेत असर पर्न सक्छ । टाउको दुख्ने, चक्कर लाग्ने, शरीर काँप्ने, कमजोरी महसुस हुनेजस्ता समस्या देखिन सक्छन् ।
अत्यधिक सम्पर्कमा केही व्यक्तिमा बेहोस हुने अवस्थासमेत देखिन सक्ने अध्ययनहरूले देखाएका छन् ।
कसलाई बढी जोखिम ?
फगिङको धुवाँबाट सबै मानिसलाई समान असर नपर्ने चिकित्सकहरू बताउँछन् । विशेषगरी पहिले नै स्वास्थ्य समस्या भएका मानिस बढी संवेदनशील हुन सक्छन् ।
दम भएका व्यक्ति, सीओपीडी वा अन्य दीर्घकालीन फोक्सो रोग भएका बिरामी, वृद्धवृद्धा, बालबालिका तथा एलर्जी भएका व्यक्तिले विशेष सावधानी अपनाउनुपर्छ ।
त्यस्तै, पहिले नै ज्वरो आएका, शरीर कमजोर भएका वा क्यान्सरको किमोथेरापी गराइरहेका व्यक्तिहरू पनि विभिन्न रसायनको असरप्रति बढी संवेदनशील हुन सक्ने डा। कुगनले बताएका छन् ।
यद्यपि, फगिङको धुवाँले यी सबै समूहका व्यक्तिमा गम्भीर स्वास्थ्य समस्या नै निम्त्याउँछ भन्ने होइन । तर, जोखिम बढी हुन सक्ने भएकाले उनीहरूलाई धुवाँको प्रत्यक्ष सम्पर्कबाट जोगाउनु आवश्यक हुन्छ ।
डा.कुगनका अनुसार भारतका केही स्थानमा मट्टितेल वा डिजेलमा कीटनाशक मिसाएर फगिङ गर्ने गरिन्छ । त्यसबाट निस्कने गन्ध तथा धुआँले मानिसलाई असहज बनाउन सक्छ ।
विशेषगरी बन्द स्थानमा यस्तो धुआँ जम्मा हुँदा श्वासप्रश्वासमा समस्या भएका व्यक्तिलाई बढी असहज हुन सक्छ । मट्टितेलको गन्धले स्नायु प्रणालीमा समेत असर पार्न सक्ने उनको भनाइ छ ।
फगिङ मुख्यतः खुला क्षेत्रमा गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ । घरभित्र धुवाँ पुर्याउने गरी फगिङ गर्नु हुँदैन । सडकमा फगिङ भइरहेका बेला घरका ढोका तथा झ्याल बन्द राख्नु उपयुक्त हुन्छ । फगिङ भइरहेको क्षेत्रमा अनावश्यक रूपमा हिँडडुल गर्नु हुँदैन । विशेषगरी दम, सीओपीडी वा अन्य फोक्सोसम्बन्धी रोग भएका बिरामीलाई धुवाँबाट टाढा राख्नुपर्छ ।
मुम्बईका पल्मोनोलोजिस्ट तथा महामारी विशेषज्ञ डा. ल्यान्सलट पिन्टोका अनुसार फगिङको धुवाँ सासबाट शरीरभित्र प्रवेश गर्दा केही मानिसमा हानिकारक असर देखिन सक्छ । विशेषगरी पहिले नै फोक्सोको समस्या भएका मानिसमा धुवाँको सम्पर्कले श्वासप्रश्वाससम्बन्धी लक्षण बढाउन सक्ने उनको भनाइ छ ।
बेंगलुरुको पल्मोनरी मेडिसिन विभागका प्रमुख डा. रवीन्द्र मेहताका अनुसार फोक्सोको समस्या र एलर्जी भएका मानिस फगिङको धुँवाको सम्पर्कमा आउँदा उनीहरूको लक्षण बढ्न सक्छ ।
उनका अनुसार एकपटकको सम्पर्कले सबै अवस्थामा गम्भीर समस्या ननिम्त्याउन सक्छ । तर, लामो समयसम्म पटक–पटक यस्तो धुवाँको सम्पर्कमा आउँदा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले सावधानी आवश्यक छ । बीबीसीबाट






