Online Bichar
शनिबार, भाद्र ०६, २०८३ | Saturday, August 22, 2026

धनकुटे कान्छा

समय अर्थात् मेरो देश
आइसक्रिमको बोट भएर उभिएको छ ।
र चुसिरहेछन् नानीहरु
थारो दुधका मुन्टाहरु।।
हुलाकघरका पुराना अनुहारहरु
रोकन हराउँदै गएका
आँखा भएकाछन्।
वर्षाैदेखि नखोलिएका
डाकघरका बन्द खामहरु
आवाजविहिन शब्दहरु
मलामी भएकाछन् ।।
आफन्तका सञ्चो बिसञ्चोका खबरहरु
संवेदनाविहिन नदुख्ने
घाउ भएकाछन्।
सहिदले देखेका
उज्यालो समर्पणका रहरहरु
सालिकपिच्छे नीर्जिवताका
परिभाषामा दशलाख
व्यापार बाँच्ने भएकाछन् ।।
चराहरुले गाएका स्वतन्त्रताका राग र आलापहरु
बेसुरा,अर्धमुर्छित फलाको भएकाछन् ।
स्वाभिमानी धुलोका अचल छातीहरु
लाहाछाप बन्द परेको छ देश
पानीको ओढारले थुनिएको छ राष्ट्रियता
गुफा तन्नेरी बनेर चमेरा उल्टो झुण्ड्याइरहेछ
र,उज्यालोका विरुद्ध अध्यारा गीत गाइरहेछ ।।
भोकाहरु पानीको पहाड चाटिरहेछन्
नाङ्गाहरु चिसो अस्मिता साटिरहेछन्
अँध्यारो सिरेटो बनेर हुँइकिरहेकोछ
समय आइसक्रिमको बोट भएर उभिएको छ
र, चुसिरहेछन् नानीहरु थारो दुधका मुन्टाहरु ।।
समय फ्रिज भएको छ धमिला बाढीहरुले
दृश्य फ्रिज भएको छ सन्धी सम्झौताका बाँधहरुले
त्यही बहानामा मूर्खहरु
पानीलाई आइसक्रिम बताइरहेछन्
र, बाँढिरहेछन् पानीफोकाजस्ता आश्वासनहरु
थरीथरीका रंगहरुमा कुल्फी बनाएर
बेचिरहेछन् इतिहासका रगतका टाटाहरु
र, साटिरहेछन् चोक्टा चोक्टामा कहिल्यै नहल्लिएको भूगोल।।
अर्थात् समय र मेरो देश आइसक्रिमको बोट भएर उभिएको छ
र, चुसिरहेछन् नानीहरु थारो दूधका मुन्टाहरु ।।
(अब कविता देश विकासका लागि)
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments