काठमाडौं, ९ वैशाख २०८३ । रूकुम पश्चिमको त्रिभुवन जनता माध्यमिक विद्यालयमा भएको भ्रष्टाचार प्रकरणमा ८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको हो।
आरोपितहरूमा तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनाल, लेखापाल ठकबहादुर बुढाथोकी, कार्यालय सहायकद्वय रमा शाह र गौरी रावत केसी, दाङ तुलसीपुर–६ का डिजिटल कम्प्युटर एन्ड इलेक्ट्रोनिक्स वर्ल्डका सञ्चालक शिवप्रसाद श्रेष्ठ, साथै मुसीकोट नगरपालिकाका शाखा अधिकृत बिनाराम खड्का र सूचना प्रविधि अधिकृत गोपाल ओली रहेका छन्।
अख्तियारका अनुसार तत्कालीन प्रधानाध्यापक खनाल र लेखापाल बुढाथोकी विरुद्ध जनही १० लाख ७५ हजार ७५३ रुपैयाँ बिगो दाबी गरिएको छ भने कार्यालय सहायकद्वय शाह र केसीविरुद्ध जनही ४ लाख ८८ हजार ८११ रुपैयाँ बिगो माग गरिएको छ। त्यसैगरी व्यवसायी श्रेष्ठविरुद्ध ७ लाख ८ हजार ८११ रुपैयाँ बिगो दाबी गरिएको छ।
अन्य तीन जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ (२) बमोजिम कसुरमा कारबाही माग गरिएको छ। अख्तियारले आर्थिक वर्ष २०७८/७९ मा ‘प्रविधिमैत्री कक्षा कोठा निर्माण तथा व्यवस्थापन कार्यक्रम’ अन्तर्गत खरिद गरिएका सामग्रीमा नक्कली बिल–भौचर बनाएर भ्रष्टाचार गरिएको आरोप लगाएको छ। मुद्दाबारे विशेष अदालतमा थप प्रक्रिया अघि बढ्ने जनाइएको छ।






