Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

गोपाल किराती 

सत्ता-सुविधा खातिर दाम्लो चुँडाउनेहरु
ख्रुच्चेव आहालको विलयमा हाम्फाल्नेहरु
शहिद तथा पेपत्ता योद्धाको सपना लत्याउँदै
सर्वहारावर्गको छातीमा भाला घोप्नेहरु

चोमोलुडंमालाई थाहा छ
जुम्रे र लिखे अवसरवादी मात्र होइन,
आत्मसर्पणवादीहरुको त्यो जुलुशमा
असल नियतले नर्क जानेहरु छन्
भेंडा बनाईएका बाघका डमरु पनि
हो, डमरुहरु पनि छन् ।

प्रख्यात छ यहाँ अंग्रेजी शब्दको ’लाईन ’
वर्गदृष्टिकोण अनि विचारधाराको लाईन
खेलकुदको नियम बुझ्ने र नबुझ्नेको लाईन
राष्टियता, भाषा वा नाचगानको लाईन
कुर्सि, कमिशन र अहं प्रर्दशनको लाईन
विखुमा रोपेर विष फलाउने अभागीहरुको लाईन
डेराभाडा रिचार्ज तथा छाक टार्ने लाईन
छिमेकी हुँदै लंगौटियाको साथी लाईन
कुनै न कुनै लाईनमा पर्दछन् ती डमरुहरु
शुभकामना छ, डमरु योद्धाहरुलाई
घाँस खाने भेंडाबाट काँचुली फेर्न सकुन ।

डमरु कमरेडलाई प्रश्न छ इतिहासको-
के साँच्चै तिमी भेंडाबाट बाघ बन्न सक्छौ?
के फोहरी आहाललाई सफा पोखरी तुल्याउन सक्छौ?

तिम्रो उत्तर हुनेछ अवश्य
’बघिनी आमासँगै छु,
सिकाउछिन आमाले बाघशास्त्र ’
सरासर गलततिम्री आमा ब्वाँसोसित पोइला गइसकिन्
चाहेर पनि त्यहाँ आमाको खटन चल्दैन ।
स्वयंभू बन्नुपर्छ तिमीले
नत्र भोलिको उज्यालो देख्न पाउने छैनौ ।

ब्वाँसोहरुको राज्यमा मान्छे बाँच्न पाउँदैन
महान जनयुद्धलाई ’वैचारिक भूल’ भन्नेहरु
कमरेड पुष्पलाललाई ’श्रेष्ठ’लेख्न नदिनेहरु
मदन-आश्रितलाई त्रिशुलीमा खसाल्नेहरु
मान्छेको मासु तारेर भोज लगाउँछन् ।
आमाको गर्भबाट झिकेर रगतको डल्ला
गर्भे बच्चाको अचार बनाउँछन् त्यहाँ ।
चोमोलुडंमाको प्रश्न छ-
के तिमी ब्वाँसो पल्टनसित लड्न सक्छौ?
के त्यहाँ मान्छेको राज्य खडा गर्न सक्छौ?

आशावादी बन्नै पर्यो
यावाले दिएको मुन्धुम कतै विर्सने छैनौ ।
आफ्नै बुद्धि र पौरखले संघर्ष गर !
संघर्ष नै जीवनको मूलतत्व सम्झ !
क्षितिजमा तिम्रो प्रगतिको रेखा देखिन सक्छ ।
किनभने,
सिस्नुको जराले हुर्काईएको सन्तान हौ तिमी ।
माडंगेनाले शुसोभित मानव तिमीलाई
प्रतिक्षा गर्नेछन्
लिम्चीबुडं चोकमा तायामा-खियामाहरु
मानव जातिको अन्तिम संघर्षमा
साम्यवादी अमरत्वको शुभकामना तिमीलाई ।

तपाईको प्रतिक्रिया