Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

छानो फेर्ने अनुदानबाट अधिकांश विपन्नले घरको जग हाल्दै

चिरञ्जीवी घिमिरे
गौरादह, २१ असोज । गौरादह नगरपालिका–२ की विपन्न सन्थाल समुदायकी सीता हेमरम आर्थिक वर्ष ०७७/७८ मा नगरपालिकाले ल्याएको ‘सुरक्षित नागरिक आवास कार्यक्रम’मा छनोट भइन् । कार्यक्रमअन्तर्गत उनले पहिलो किस्ताबापत ३० हजार रुपैयाँ पाइन् । तर, त्यो पैसा घरको छानो फेर्न दिइएको थियो भन्ने नबुझ्दा उनले नयाँ घर बनाउन दिएको ठानेर धमाधम जग खन्न थालिन् ।

बर्खामा पानी चुहिने र हिउँदमा शीत झर्ने छाप्रोबाट मुक्ति मिलेको ठानेर खुसी भएकी सीताले ३० हजारमा जसोतसो जग हालिन् । जब थप अनुदान माग्न उनी पुगिन्, अनि झसंग भइन् । यति वेला मात्र उनलाई थाहा भयो, ३० हजार अनुदान छाप्रोमा टिनको छानो हाल्नका लागि दिइएको थियो । ‘त्यो पैसा घर बनाउन दिएको होइन रहेछ । घरमा टिन लगाउन पो रहेछ,’ सीताले नयाँ पत्रिकासँग भनिन्, ‘कसैले पनि सुरुमै बुझ्ने गरी सम्झाएनन् । सरकारले पछि पनि पैसा दिन्छ भनेको सुनेको थिएँ, त्यसैले घर बनाउन लागेँ । तर, अहिले बिचल्ली भयो ।’

आफैँले थप लगानी गरेर जगमा घर ठड्याउने क्षमता उनीसँग छैन । नगरपालिकाले दिएको पैसा जगमा खर्च भयो, झाप्रो जस्ताको तस्तै रह्यो । ‘दिनभरिको मजदुरीले बिहान–बेलुका खान त मुस्किल पर्छ, कसरी घर बनाउनू ?’ उनले दुःख सुनाइन् ।

सोही ठाउँका बलबहादुर भुजेल पनि उसै गरी झुक्किए । विपन्नलाई राज्यले घर बनाउनु अनुदान दिन थालेको सुनेका उनले पनि पहिलो चरणमा पाएको ३० हजारले घरकै जग खने । सुरक्षित नागरिक आवास कार्यक्रमले फुसको छानो हटाएर जस्ताको छानो लगाउन उनलाई त्यो अनुदान दिएको कुरा दोस्रो किस्ता लिन जाँदा मात्र थाहा भयो । न फुसको छानो फेरियो, न जग खनेको ठाउँमा नयाँ घर नै बन्ने भयो । ‘अब चाहिँ नयाँ घरमा बस्न पाइन्छ कि भन्ने आशा, निराशामा परिणत भयो,’ बलबहादुरले भने, ‘न राम्रो घरमा बस्न पायौँ, न यही घरको फुसको छानो नै फेर्न पायौँ ।’

दोस्रो किस्ता वितरण विवादमा
अनुदान रकम कहाँ खर्च गर्ने भन्ने नबुझ्दा विपन्नलाई अर्को झमेला पनि परेको छ । छानो फेर्न पाएको अनुदानबाट थुप्रैले धमाधम जग खनेका छन् । उनीहरूमध्ये कतिपयले स्थानीय तहसँग दोस्रो अनुदानबापतको २० हजार रुपैयाँ पनि लिइसकेका छन् । तर, कार्यक्रम समन्वय गरिरहेको सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख राजेन्द्र खतिवडाले छानो नफेरी जग खन्नेकाहरूलाई दोस्रो किस्ता दिनै नमिल्ने बताए । ‘कार्यक्रमको अनुदान छानो फेर्न आएको हो । जग खन्नेलाई दोस्रो किस्ता दिनै मिल्दैन,’ उनले भने, ‘त्यसरी दिइएको रहेछ भने त्यो मापदण्डविपरीत हुन्छ ।’

सुरक्षित नागरिक आवास कार्यक्रमको कार्यविधिअनुसार फुसको छानो हटाएर जस्ता लगाउन जस्तापाता र काठ खरिदसँगै निर्माणको प्रक्रिया अघि बढाउन पहिलो किस्ताबापत कुल अनुदान रकमको ६० प्रतिशत अर्थात् ३० हजार उपलब्ध गराउने उल्लेख छ । यस्तै, स्थानीय तहले लाभग्राहीले काम गरेको सिफारिस गरेपछि मात्र बाँकी २० हजार रकम बैंक खातामा हाल्ने उल्लेख छ । तर, गौरादह नगरपालिका–२ का वडाध्यक्ष हेमन्त कार्कीले छानो फेरे पनि वा जग खने पनि काम गरेपछि दोस्रो किस्ता दिन सिफारिस गरिएको बताए । ‘लाभग्राहीले टिन लगायो–लगाएन भन्दा पनि उसले गरेको कामका आधारमा दोस्रो किस्ताको सिफारिस गर्ने हो,’ वडाध्यक्ष कार्कीले भने, ‘वाल लगाए पनि फाउन्डेसन हाले पनि, काम गरेको छ भने पैसा पाउँछ ।’

सुरक्षित नागरिक कार्यक्रमको उद्देश्यअनुसार विपन्नले त पानी नचुहिने छानोमुनि बस्न पाएनन् नै, गौरादह नगरपालिकाको यो कामले स्थानीय तहमाथि प्रश्न उठाएको छ । गौरादहमा अधिकांश विपन्न नागरिकले बाँसको भाटाले च्यापेर जस्तापाता लगाएर दोस्रो किस्ता लिइसकेका छन् । त्यसरी लिएको पैसा मापदण्डविपरीत हो भन्ने सुनेपछि उनीहरू थप चिन्तित बनेका छन् । ‘न छानो फेरियो, न घर ठडियो,’ बलबहादुरले भने, ‘दोस्रो किस्ताको पैसा फिर्ता गर भन्छन् कि भन्ने चिन्ता पो थपियो ।’

स्थानीय तहले जिम्मेवारी पूरा नगर्दा झमेला
विपन्न नागरिकका घरको छानो फेर्न भनेर संघीय सरकारले ५० हजार रुपैयाँ अनुदान दिने गरी ‘सुरक्षित नागरिक आवास कार्यक्रम’ ल्याएको हो । संघीय सरकारको कार्यक्रम भए पनि अनुदान वितरणदेखि निरीक्षण, अनुगमनको जिम्मा स्थानीय तहले पाएको छ । स्थानीय तहले मापदण्डबारे वेलैमा सबैलाई सुसूचित नगराउँदा अहिले थुप्रै विपन्न बिलखबन्दमा परेका छन् । कार्यक्रमको मापदण्डबारे राम्रोसँग नबुझ्दा थुप्रै विपन्नले फुसको छानो फेरेका छैनन् ।

विपन्न नागरिकको छनोटदेखि काम सकिएको सिफारिस गर्नेसम्मको जिम्मेवारी स्थानीय तहले पाएका छन् । तर, स्थानीय तहका जनप्रतिनिधिले विपन्न नागरिकलाई सुरक्षित नागरिक आवास कार्यक्रमको मापदण्डको विषयमा जानकारी नदिँदा न विपन्न नागरिकको घरमा फुसको छानो हटाउने राज्यको उद्देश्य पूरा भयो, न त विपन्न नागरिकले सुरक्षित छानो भएको घरमुनि बस्न नै पाए ।

‘हामीलाई घरको छानोमा टिन लगाउन पैसा दिएको हो भनेर कसैले भनेन । नयाँ घर बनाउन दिएको होला, फेरि दिन्छ होला भन्ने लागेर हामीले यसरी घर बनाउन सुरु गरेका हौँ,’ बलबहादुरले भने, ‘कसैले भनेको भए त हामी घरमा टिन लगाउँथ्यौँ नि ?  कहाँ यस्तो घरमा बस्थ्यौँ त  ? राम्रो घरमा बस्ने सपना पनि सपना नै भयो । बिहानबेलुका खान नै समस्या छ । यो घर पूरा गर्न कहाँबाट पैसा ल्याउनु ?’

 

तपाईको प्रतिक्रिया