Online Bichar
बुधबार, बैशाख १६, २०८३ | Wednesday, April 29, 2026

काठमाडौं, १६ वैशाख २०८३ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिब १ करोड ४६ लाख रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवविरुद्ध विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको हो। आयोगका अनुसार २०४७ असार ३१ देखि २०८० पुस ९ सम्मको अनुसन्धान अवधिमा यादवको वैधानिक आम्दानी ३ करोड ४६ लाख २१ हजार रुपैयाँ देखिएको छ।

तर सोही अवधिमा यादव र उनका परिवारको कुल खर्च ४ करोड ९३ लाख २ हजार ६२६ रुपैयाँ ९९ पैसा पुगेको अख्तियारको दाबी छ। आय र व्ययबीच १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ ९० पैसा फरक देखिएको र सो रकमको स्रोत पुष्टि हुन नसकेको आयोगले जनाएको छ।

अख्तियारका अनुसार उक्त गैरकानुनी सम्पत्ति श्रीमती निर्मला कुमारीको नाममा समेत रहेको पाइएको छ। त्यसैले बिगो बराबरको रकम जफत, जरिवाना तथा कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो।

तपाईको प्रतिक्रिया