काठमाडौं, १६ वैशाख २०८३ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक प्रमुख सहयोगीसँग जोडिएको एउटा विलासी जहाज होर्मुज जलमार्ग भएर गएको छ । अमेरिकी नाकाबन्दी जारी रहेकै बेला उक्त जहाज होर्मुजबाट पार हुनुलाई चासोका साथ हेरिएको बीबीसीले जनाएको छ ।
इरानले पनि होर्मुजमा आफ्नो पूर्ण नियन्त्रण रहेको र उसको अनुमतिबिना कुनै पनि जहाज यहाँबाट जान नसक्ने दाबी गर्दै आएको छ ।
१४२ मिटर लामो ‘नर्ड’ नाम गरेको उक्त यर्ट प्रतिबन्धित रूसी अर्बपति अलेक्सी मोर्दाशोभसँग सम्बन्धित रहेको बताइएको छ । यो विलासी जहाज दुबईबाट ओमानको मस्कटसम्म पुगेको हो । हालैका महिनाहरूमा होर्मुज जलमार्ग पार गर्ने थोरै जहाजहरूमध्ये यो एक हो ।
होर्मुज जलमार्गलाई पुनः खोल्ने विषयमा अमेरिकासँग जारी तनावका बीच इरानले यस हप्ता रुससँग उच्चस्तरीय बैठक गरेको छ ।
विश्वभर आपूर्ति हुने तेलको करिब २० प्रतिशत हिस्सा होर्मुज जलमार्गबाटै जाने गर्छ । पुटिनका निकटका मानिने मोर्दाशोभको रूसी झण्डावाहक यो जहाजको मालिकको नाम औपचारिक रूपमा दर्ता नभए पनि ‘नर्ड’ को रेकर्डले यो उनकी पत्नीको स्वामित्वमा रहेको देखाउँछ ।
‘नर्ड’को अनुमानित मूल्य ५० करोड डलर रहेको बताइएको छ । ‘मरीन ट्राफिक’ प्लेटफर्मको तथ्यांकअनुसार ‘नर्ड’ शुक्रबार राति दुबईबाट प्रस्थान गरी आइतबार बिहान ओमानको राजधानीस्थित अल मौज मरिनामा पुगेको हो ।
मोर्दाशोभले आफ्नो सम्पत्तिको ठूलो हिस्सा स्टील र खानी कम्पनी ‘सेभेरस्टाल’मार्फत कमाएका हुन्, जुन यस क्षेत्रमा रुसको सबैभन्दा ठूलो कम्पनीमध्ये एक हो । करिब ३७ अर्ब डलरको अनुमानित सम्पत्तिसहित अमेरिकी व्यावसायिक पत्रिका ‘फोर्ब्स’ले उनलाई धनी रूसी नागरिकमध्ये एकका रूपमा सूचीबद्ध गरेको छ ।
२८ फेब्रुअरीदेखि सुरु भएको अमेरिकी र इजरायली हमलाको जवाफमा इरानले होर्मुज जलमार्गबाट हुने समुद्री आवागमनमा कडा प्रतिबन्ध लगाएको छ । मरीन ट्राफिकको तथ्यांकअनुसार ‘नर्ड’ इरानमा कतै रोकिएको संकेत देखिएको छैन । खाडीको यस समुद्री मार्गबाट हुने यातायात हाल युद्धपूर्वको स्तरको तुलनामा निकै कम भएको छ ।






