Online Bichar
शुक्रबार, मंसिर ०५, २०८३ | Friday, November 20, 2026

काठमाडौँ, ४ मंसिर २०८३ । चीनका विश्वविद्यालयबाट एमडी–एमएस अध्ययन गर्दा नेपालको मापदण्डअनुसार ३ वर्षे अवधि नपुगेका विद्यार्थीलाई कबुलियतनामा गराई नामदर्ता परीक्षामा सहभागी हुन पाउने भएका छन् ।

चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलको संयुक्त बैठकले मापदण्डअनुसार ३ वर्षे अवधि नपुगेका विद्यार्थीलाई कबुलियतनामा गराई नामदर्ता परीक्षामा सहभागी गराउने निर्णय गरेको हो । यद्यपि, ती विद्यार्थीले नपुगेको समयबराबर आवासीय चिकित्सकसरहको क्लिनिकल अभ्यास सम्बन्धित विश्वविद्यालय वा नेपालकै शिक्षण संस्थामा पूरा गरेपछि मात्र नामदर्ता परीक्षाको प्रमाणपत्र पाउनेछन्।

चिकित्सा शिक्षा आयोगको वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन समिति र नेपाल मेडिकल काउन्सिलका पदाधिकारीहरूको संयुक्त बैठकले एमडी–एमएस अध्ययन अवधि नपुगेका विद्यार्थीहरूका लागि नयाँ व्यवस्था गरेको छ। आयोगबाट अनुमति पत्र लिएर चीनका विभिन्न विश्वविद्यालयमा एमडी–एमएस पढ्न गएका केही विद्यार्थीको पढाइ अवधि नेपालको ३ वर्षे पाठ्यक्रमभन्दा केही महिना कम देखिएको थियो।

यही कारणले उनीहरूको मेडिकल काउन्सिलको नामदर्ता परीक्षाको फाराम स्वीकृत नभएपछि परीक्षामा सहभागी गराउन माग गर्दै आयोगमा निवेदन परेको थियो। सोही निवेदनका आधारमा गरिएको निर्णयअनुसार अब त्यस्ता विद्यार्थीले पढाइ नपुगेको समयबराबर आवासीय चिकित्सक सरहको अभ्यास सम्बन्धित विश्वविद्यालय वा नेपालकै शिक्षण संस्थामा पूरा गर्नुपर्नेछ। यसका लागि विद्यार्थीबाट कबुलियतनामा लिइनेछ र कबुलियतनामा गरेपछि मात्र उनीहरूलाई नामदर्ता परीक्षामा सहभागी गराइनेछ। कम भएको अवधिबराबरको क्लिनिकल अभ्यास पूरा गरेपछि मात्र उनीहरूले नामदर्ता परीक्षाको प्रमाणपत्र पाउनेछन्।

यसका साथै बैठकले आगामी दिनका लागि थप कडा नियम पनि लागू गरेको छ। अबदेखि एमबिबिएस र बिडिएसमा साढे ५ वर्ष तथा एमडी–एमएस र एमडीएसमा ३ वर्षभन्दा कम पढाइ अवधि भएकाहरूलाई इलिजिबिलिटी लेटर नदिइने र नामदर्ता परीक्षामा पनि सहभागी नगराइने भएको छ। साथै, माथि उल्लेख गरिएका विशेष अवस्थाका बाहेक विदेशमा पढेका अन्य विद्यार्थीलाई नेपालमा इन्टर्नसिप वा रेजिडेन्टको अवसर नदिने निर्णय पनि गरिएको आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया