Online Bichar
शुक्रबार, मंसिर ०५, २०८३ | Friday, November 20, 2026

विराटनगर, ४ मंसिर २०८३ । श्रीमतीको शव अन्त्येष्टिका लागि तयार पारिसकिएको थियो । घरमा आफन्त जम्मा हुँदै थिए। मृत्युको खबर माइतीसम्म पुगिसकेको थियो । तर, माइती पक्षले घटनालाई स्वाभाविक मृत्यु मान्न सकेन। उनीहरूको शंकाकै कारण पोस्टमार्टम गरियो । अन्ततः दुई महिनाअघि भएको घटनाको रहस्य खुल्यो– सन्चमायाको मृत्यु प्राकृतिक थिएन, हत्या थियो।

मोरङको केराबारी गाउँपालिका–७ दाहालचोक नजिक शान्तिमार्ग टोलकी ४८ वर्षीया सन्चमाया राई (लिम्बू)को हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमान उत्तमकुमार लिम्बूलाई पक्राउ गरेको छ। असोज ८ गते राति भएको घटनामा संलग्न रहेको आरोपमा उनलाई मंसिर १ गते पक्राउ गरिएको हो । प्रहरीका अनुसार असोज ८ गते राति करिब ११ः४५ बजे सन्चमाया आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।

श्रीमतीको मृत्यु भएको भन्दै उत्तमकुमारले माइती पक्षलाई खबर गरेका थिए। त्यसपछि घरमा दाहसंस्कारको तयारी सुरु भयो। अन्त्येष्टिअघिका धार्मिक विधिसमेत अघि बढिसकेका थिए । तर, घर पुगेका माइती पक्षका सदस्यले घटनास्थलको अवस्था र मृत्युको परिस्थितिलाई शंकास्पद माने। उनीहरूले सन्चमायाको मृत्यु सामान्य नभई हत्या हुन सक्ने आशंका गरे।

मृतकका भाइ मन राईले असोज ९ गते दिउँसो इलाका प्रहरी कार्यालय केराबारीमा खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। त्यसपछि सुरु भएको अनुसन्धानको महत्वपूर्ण कडी पोस्टमार्टम बन्यो। शवको पोस्टमार्टम नगरी अन्त्येष्टि गर्न दबाब आए पनि प्रहरीले त्यसलाई स्वीकार गरेन। माइती पक्षले समेत पोस्टमार्टम र निष्पक्ष अनुसन्धानको माग गरेपछि प्रहरीले शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठायो।

पोस्टमार्टम रिपोर्टमा सन्चमायाको शरीरमा ‘ब्लन्ट फोर्स इन्जुरी’ अर्थात् भुत्ते वस्तुको प्रहारबाट चोट लागेको उल्लेख रहेको प्रहरीले जनाएको छ । रिपोर्टले उनको मृत्यु सामान्य नभएको देखाएपछि प्रहरीले घटनालाई थप गम्भीरतापूर्वक अनुसन्धान गर्यो। अनुसन्धानका क्रममा उत्तमकुमारले मदिरा सेवनपछि श्रीमतीसँग घरायसी विवाद भएको र आफूले ठेल्दा उनी लडेको बयान दिएको प्रहरीले जनाएको छ । लडेर केही बेरपछि मृत्यु भएको उनको भनाइ थियो । तर, पोस्टमार्टम रिपोर्ट र घटनास्थलबाट संकलित प्रमाणले उनको बयानमाथि शंका उत्पन्न गर्यो।

सन्चमाया र उत्तरकुमारले दोस्रो बिहे गरेका थिए। उनीहरु यसअघिका श्रीमान–श्रीमतीको मृत्यु भइसकेको पाइएको प्रहरीले जनाएको छ। सन्चमायाका यसअघिका श्रीमानतर्फका छोराले उत्तमकुमारविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार हालसम्मको अनुसन्धानमा सन्चमायाको हत्यामा उत्तमकुमारकै संलग्नता देखिएको छ। उनलाई मंसिर १ गते पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जानकारी कटवालले दिए।

प्रहरीका अनुसार यसअघिका श्रीमान–श्रीमतीको मृत्यु भइसकेका सन्चमाया र उत्तरकुमारले दुई वर्षअघि विवाह गरेका थिए। विवाहपछि दुवैजना केराबारीस्थित घरमा सँगै बस्दै आएका थिए। सन्चमायाको पहिलेको घर धनकुटाको साँगुरीगढी गाउँपालिका–७ हो।

घटनापछि शवको पोस्टमार्टम नगराउन विभिन्न ठाउँबाट दबाब आएको प्रहरी स्रोतको भनाइ छ। तर, माइती पक्षको शंका र प्रहरीको अनुसन्धान प्रक्रियाका कारण शवको परीक्षण रोकिएन। पोस्टमार्टम रिपोर्टले मृत्युको कारणका बारेमा महत्वपूर्ण तथ्य दिएपछि घटनाको अनुसन्धान हत्यातर्फ केन्द्रित भएको हो । प्रहरी स्रोतका अनुसार अन्त्येष्टिको हतारो गरेर घटनालाई सामान्य मृत्युका रूपमा स्थापित गर्ने प्रयास भएको थियो । तर, प्रहरीको सक्रियतासँगै पोस्टमार्टम रिपोर्ट र अन्य प्रमाणले त्यसलाई असफल बनाइदिएको एसपी कटवाल बताउँछन्।

घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले गरिरहेको छ। पक्राउ परेका उत्तमकुमारमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी रहेको जानकारी प्रहरीले दिएको छ।अन्नपूर्णपोष्टबाट

 

तपाईको प्रतिक्रिया