काठमाडौं, ४ मंसिर २०८३ । जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले गएको मंसिर १ र २ गते पनौतीका दुई रिसोर्टमा छापा मार्यो । बन्थली माउन्टेन रिसोर्ट र पाँचखालको ह्वाइट पार्क रिसोर्टमा छापा मारेर ३५ जापानी र ४१ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।
ठूलो संख्यामा पक्राउ परेका जापानी र चिनियाँ नागरिकलाई प्रहरीले थप अनुसन्धान र कारबाहीका निम्ति अध्यागमन विभाग पठाएको छ ।
पक्राउ परेकाहरूमध्येमा पाँच चिनियाँ महिला समेत छन् । रिसोर्टमा शंकास्पद गतिविधि देखिएपछि उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन विष्टले जानकारी दिए ।
प्रहरीका अनुसार, पक्राउ परेका सबैजना पर्यटक भिसामा फरक–फरक मितिमा नेपाल भित्रिएका थिए । रिसोर्टमा उनीहरूको गतिविधि शंकास्पद देखिएपछि छापा मारिएको डीएसपी विष्टले जानकारी दिए ।
पक्राउ परेका चिनियाँ र जापानी नागरिकहरूबाट ठूलो मात्रामा विद्युतीय उपकरणहरू बरामद गरिएको छ । उनीहरूको साथबाट मोबाइल, ल्यापटपसहित अन्य उपकरणहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनीहरू सबैजना पर्यटक भिसामा नेपाल आएर कानुन विपरीतको कार्य गरेको खुलेको हो । उनीहरूमाथि अध्यागमन विभाग र प्रहरीले पनि अनुसन्धान जारी राखेको छ । प्रहरीको अनुसन्धानका क्रममा उनीहरू फरक–फरक मितिमा नेपाल आएको खुलेको छ ।
तर, उनीहरू अनलाइन ग्यामलिङ वा स्क्यामिङको धन्दा गर्न उदेश्यले रिसोर्टमा बसेको आंशका प्रहरीको छ । प्रहरीका अनुसार, उनीहरूले नेपालीलाई भन्दा पनि आफ्नै देशका वा तेस्रो मुलुकका नागरिकहरूलाई स्क्यामिङ गर्न नेपाली भूमि प्रयोग गर्न खोजेको देखिन्छ ।
काठमाडौंमा घर नै भाडामा लिएका चिनियाँहरूले अनलाइन ठगी धन्दा गरेको खुलेपछि प्रहरीले पटक–पटक छापा मार्दै आएको छ । पछिल्लो समय उनीहरू काठमाडौंमा असुरक्षित हुने भएपछि काभ्रे पुगेको प्रहरीको आंशका छ ।
रिसोर्टभित्रै ‘नक्कली चिनियाँ प्रहरी स्टेसन’
पाँचखालस्थित ह्वाइट पार्क रिसोर्टमा छापा मार्दा प्रहरी टोली नै चकित परेको थियो । चिनियाँ नागरिकको समूहले रिसोर्टको एक कोठाभित्र ‘चिनियाँ प्रहरी स्टेसन’को नक्कली सेटअप र फोटो स्टुडियोसमेत निर्माण गरेको पाइएको छ । उनीहरूको साथबाट नक्कली चिनियाँ प्रहरीका परिचयपत्रसमेत बरामद गरिएको छ ।
आफ्नै देशका नागरिकलाई फोन वा भिडियो कलमार्फत त्रासमा पारेर स्क्यामिङ गर्न उनीहरूले प्रहरी कार्यालयकै झल्को दिने संरचना तयार पारेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
उनीहरूलाई सिधै डिपोर्ट गर्ने वा थप अनुसन्धान गर्ने भन्नेबारे प्रहरीले अध्यागमन विभागको निर्णय पर्खिएको छ । प्रहरीले पक्राउ गरेको चिनियाँ र जापानीज छुट्टाछुट्टै समूह हुन् ।
पक्राउ परेका चिनियाँ र जापानी नागरिक छुट्टाछुट्टै समूह भए पनि दुवैको उद्देश्य एउटै देखिएको छ । प्रहरीका अनुसार, उनीहरूले विगत एक महिनादेखि रिसोर्ट नै पूरै भाडामा लिएर बसेका थिए । गोपनीयता कायम राख्न उनीहरूले रिसोर्ट सञ्चालकले जडान गरेका सीसी क्यामेरा समेत बन्द गरिदिएका थिए ।बाह्रखरीबाट






