काठमाडौं, ४ मंसिर २०८३ । स्थानीय र प्रदेशसभा चुनाव एकैपटक गर्ने कि फरक भन्नेमा राजनीतिक दलहरूबीच सहमति जुटेन ।
निर्वाचन आयोगले स्थानीय तहको चुनावको तयारीका विषयमा राजनीतिक दलहरूका प्रतिनिधिसँग शुक्रबार गरेको छलफलमा सहमति जुट्न नसकेको हो ।
“पटक–पटक चुनाव धान्न सकिन्छ कि सकिँदैन । एकैपटक चुनाव गर्ने हो कि ?,” सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले भने ।
अब यो विषय राजनीतिक संयन्त्रको बैठकमा छलफल हुने उनले बताए । भोटेकोसी बाढीका बेलामा बनेको संयन्त्रमा छलफल हुनेछ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र कानुनले व्यवस्था गरेको मितिमा चुनाव गर्नुपर्ने सुझाव दिएका छन् । उनले भने, “संविधान र कानुनले व्यवस्था गरेको मितिमा चुनाव गरौं ।”
नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनबारे संविधान र कानुनले स्पष्ट गरेको बताए । “एकैपटक गर्ने कि भन्ने पनि कुरा आएको छ । सरकारले छलफल गर्ला । दलहरूबीच, आन्तरिक रूपमा छलफल गर्छौं,” सभापति थापाले भने ।






