Online Bichar
शुक्रबार, मंसिर ०५, २०८३ | Friday, November 20, 2026

धादिङ, ४ मंसिर २०८३ । नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभिरमा गएको सुख्खा पहिरो हटाउन दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै मंसिर ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो। घोप्टेभिरमा लगातार सुख्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि सडक बन्द गरेर जोखिमयुक्त ढुंगा तथा माटो हटाउन लागिएको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार उक्त समयावधिमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहनेछ। सडकमा जोखिमयुक्त ढुंगा तथा माटो हटाउने काम सम्पन्न गर्न दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको हो।

यस व्यवस्थाका कारण काठमाडौं, धादिङ, चितवन तथा अन्य जिल्लातर्फ आवतजावत गर्ने यात्रु र सवारीसाधन प्रभावित हुनेछन्। त्यसैले यात्रु तथा सवारी चालकलाई सडक बन्द हुने समयलाई ध्यानमा राखेर यात्रा व्यवस्थापन गर्न प्रशासनले आग्रह गरेको छ।

सडक बन्दसम्बन्धी थप जानकारीका लागि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको हटलाइन १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ मा सम्पर्क गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया