Online Bichar
बुधबार, बैशाख १६, २०८३ | Wednesday, April 29, 2026

काठमाडौं, १६ वैशाख २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले १२ बुँदे निर्देशन र सुझाव प्रस्तुत गर्दै अध्यादेश दल फुटाउने उद्देश्यले नआएको स्पष्ट पारेका छन्। बैठकमा उनले सांसद र मन्त्रीबीच नियमित अन्तरक्रिया गरिने, सरकार परिवर्तनसँगै सार्वजनिक सेवाको संस्कार पनि बदल्नुपर्नेमा जोड दिएका छन्। “रास्वपा मालिक बन्न खोज्नेहरूको होइन, सेवक र सहजकर्ताहरूको दल हो,” उनले भने।

लामिछानेले ‘हेल्लो सरकार’ लाई थप प्रभावकारी बनाउँदै गुनासो व्यवस्थापन प्रणाली सुदृढ गरिने बताए। सांसदहरूको मुख्य काम कानुन निर्माण भएको उल्लेख गर्दै उनले आफ्नो मर्यादा कायम राख्न निर्देशन दिए।

अन्तर्जातीय विवाहका नाममा हुने विभेद र घटनाहरू रोक्न पहल गर्नुपर्ने, तर घटनास्थलमा भावनात्मक भएर मर्यादा नबिर्सन पनि उनले सुझाए। खाडी क्षेत्रमा देखिएको द्वन्द्वले बजार मूल्यमा पारेको असरप्रति सरकार सचेत रहेको र समाधानका लागि काम भइरहेको जानकारी गराए।

संगठन निर्माणमा सक्रिय हुन आह्वान गर्दै उनले जोखिमयुक्त स्थानमा रहेका सुकुम्बासीहरूको व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको बताए। “सरकारले कसैलाई घरबारविहीन बनाउने छैन, सुरक्षित बासस्थान सुनिश्चित गरिन्छ,” उनले भने। यसका लागि विशेष आयोग गठन गर्ने तयारी रहेको पनि उनले उल्लेख गरे।

अध्यादेशबारे स्पष्ट पार्दै लामिछानेले विगतका गलत नियुक्ति र अनावश्यक दलियकरण सच्याउन यस्तो कदम आवश्यक भएको बताए। “अध्यादेश कसैलाई लक्षित गरेर होइन, सुधारका लागि ल्याइएको हो,” उनले भने।

त्यस्तै, संवैधानिक आयोगहरूमा रिक्त पदपूर्ति गर्न ढिलाइ हुँदा काम प्रभावित भएको भन्दै आवश्यक सक्रियता देखाउनुपर्नेमा उनले जोड दिए। बैठकमा उनले नियमित छलफल र समन्वयमार्फत जनअपेक्षा अनुसार काम गर्न सबैलाई निर्देशन दिएका छन्।

तपाईको प्रतिक्रिया