काठमाडौं, १६ वैशाख २०८३ । काठमाडौंसहित देशका विभिन्न स्थानमा बुधबार साँझ हावाहुरीसहित वर्षा भएको छ । मौसमविद्का अनुसार विशेषगरी वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा अहिले हावाहुरीसहित पानी परिरहेको छ भने अन्य प्रदेशका केही स्थानमा पनि हावाहुरी चलिरहेको छ ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौंमा प्रतिघण्टा करिब ७० किलोमिटर (प्रतिसेकेन्ड १९ मिटर) वेगमा हावाहुरी चलेको छ । उनले आगामी १२ घण्टासम्म हावाहुरीको प्रभाव रहने बताए पनि एकैपटक देशभर नचल्ने स्पष्ट पारे । उनका अनुसार फरक–फरक समयमा फरक स्थानमा हावाहुरी देखिनेछ ।
हाल लुम्बिनी प्रदेशदेखि पूर्वतर्फ सक्रिय प्रणाली पूर्व सर्दै गए पनि आज रातिदेखि सुदूरपश्चिमबाट अर्को नयाँ प्रणाली विकास हुने उनले जानकारी दिए । उक्त प्रणालीका कारण रातिदेखि पश्चिम नेपालमा समेत हावाहुरी चल्ने र क्रमशः यसको प्रभाव देशका अन्य भागमा पनि देखिने सम्भावना रहेको छ ।
मौसमविद्ले सम्भावित हावाहुरी र वर्षाबाट हुने क्षतिबाट जोगिन सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।






