Online Bichar
शनिबार, जेठ ०५, २०८१ | Saturday, May 18, 2024

काठमाडौं, २२ वैशाख २०८१ । नेपाल पत्रकार महासंघले नयाँ कार्यसमिति चयनका लागि आगामी २६ जेठमा निर्वाचन गर्ने भएको छ ।

शुक्रबार काठमाडौंमा भएको महासंघको २७ औं महाधिवेशनले २६ जेठमा निर्वाचन गर्ने निर्णय गर्दै त्यसको तयारीका लागि महासंघका समितिहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै सदस्यता शुद्धीकरणसम्बन्धी सबै विषय महासंघको विधान र शुद्धीकरण मापदण्ड २०७९ अनुसार वैशाखभित्रै टुंगो लगाएर सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

महासंघले प्रकाशित समाचारको विषयमा सर्वोच्च अदालतले पछिल्लो पटक दिएको आदेश संविधान विपरीत ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको स्टिङ अपरेशनसम्बन्धी एक मुद्दामा न्यायाधीशसमेतको संलग्नतामा मिलेमतो भएको भन्दै सिधाकुरा डटकमले एक समाचार र अडियो सामग्री प्रकाशन गरेको थियो ।

उक्त समाचारले अदालतको अवहेलना भएको भन्दै परेको मुद्दामा सुनुवाइका क्रममा सर्वोच्चले ती सामग्री हटाउन र त्यस विषयमा पुन समाचार प्रकाशन नगर्न आदेश दिएको थियो । महासंघले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासँग माग गरेको छ ।

महासंघले कानुन निर्माणका क्रममा रहेका मिडियासम्बन्धी विभिन्न विधेयकहरुलाई पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता हुने गरी मिडियामैत्री बनाउन तीनै तहका सरकारसँग माग गरेको छ । त्यस्तै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कुनै पनि नीति तथा क्रियाकलाप नगर्न सरकारलाई आग्रह गरेको छ ।

महाधिवेशनले पत्रकार महासंघको संस्थापक अध्यक्षको विषयमा हाल उत्पन्न विवाद समाधानका लागि त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभाग तथा इतिहास विभागसँगको समन्वयमा अध्ययन अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुग्न केन्द्रीय समितिलाई निर्देशन पनि दिएको छ ।

 

तपाईको प्रतिक्रिया