Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, ७ बैशाख २०७७ ।  नेपाली कांग्रेस नुवाकोटले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । पार्टीको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको सभापति जगदिश्वरनरसिंह केसीले जनाएका छन् ।

पार्टीले जारी गरेको विज्ञप्तीमा पार्टीका सम्पूर्ण तहका नेता कार्यकर्ता तथा अन्यलाई राहत कोषमा सहयोग गर्न अपिल गरिएको छ । कोरोना संक्रमण बढ्दै गएकाले सबैले सचेतता अपनाउन पनि उनले आग्रह गरेका छन् ।

राहतका लागि नगद वा नबिग्रिने खाद्य सामग्री दिन सकिने जनाइएको छ । कसैले व्यक्तिलाई त्यो नगद वा सामग्री उपलव्ध गराए पार्टी जिम्मेवार नहुने पनि सभापति केसीले स्पष्ट पारेका छन् । उनले यो निर्णय फेसबुकमा समेत पोष्ट गरेका छन् ।

सहयोगका लागि सदरमुकाम विदुरमा रहेको नेपाल बैंक लिमिटेडमा खाता खोलिएको छ । खाता नम्बर ००२६११००२८६११०००००१ रहेको छ । विज्ञप्तीमा प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा वान डोर सिस्टमबाट राहत तथा नगद वितरण गरिने उल्लेख छ ।

राहत जहाँबाट उपलव्ध भएको हो त्यहीँ वितरण गर्नका लागि एउटा मापदण्ड पनि बनाइएको छ । राहत वितरणमा सहजीकरण गर्न विभिन्न पक्ष समावेश गरिएको जिल्ला समन्वय समिति पनि गठन गरिएको छ । केसीले सरकार कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्न सक्रिय नभएको आरोप लगाएका छन् ।

प्रकोप रोकथामका लागि समन्वय समिति बनाउन सरकारले नमानेकोमा समेत उनको आपत्ति छ । नेपाली कांग्रेसले समन्वय गरेर जान प्रस्ताव राखेपनि सरकारले सुन्न समेत नमान्नु दुःखद् र आश्चर्यचकित भएको उनको टिप्पणी छ । राहत वितरण गर्दा नागरिकता खोजिनु, फोटो खिच्न खोज्नु दुःखद् भएको भन्दै उनले राहत वितरणमा सहजता अपनाउन समेत आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया