Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

                 खगेन्द्र नेउपाने

अलिकति कमजोरीमा
धेरै प्रोपोगण्डा मिसाएर
फेक न्युजहरुमा घोलेर
देब्रे कुनामा मान्छेहरु कोकोहोलो गर्दैछन्
तर
तिमी बिचौलियाको काखमा निदाउँने प्रयास गर्दैछौ ?
जो तिम्रा होइनन्
(उनका पनि होइनन् ? )
केवल सत्ताको नजिक बस्छन्
समर्थनको खरानी घस्छन्
अँध्यारा कुनामा पस्छन्
हर समय देशलाई डस्छन्
तिमी तिनै बिचौलियालाई विश्वास गर्दैछौ ?

इतिहासको यस्तो मोडमा छौ तिमी
समयको यस्तो तोडमा छौ तिमी
जहाँ केहि मान्छेहरू
नेपालमा बहुमत फाब्दैन भन्दैछन्
यो देशलाई असफल राष्ट्रमा गन्दैछन्
तर तिमी
जनताका आवाज छेक्ने पाहाड पारि जाँदैछौ ?
अवसरवादीहरुको हलुवा खाँदैछौ ?
तिनीहरुकै स्वार्थमा रस भर्दैछौ ?
जनतालाई सम्बोधन गर्न ढिला गर्दैछौ ।

हामीलाई थाहा छ
बर्षौंदेखिको अव्यवस्थाको फोहोर ठूलो छ
सडकहरु कोत्रिएका छन्
पानीपर्दा हिलो छ नपर्दा धूलो छ
तर
भ्रष्टाचारमा पल्किएका जुकाहरु
तिनलाई तिमीले चिन्नु पर्छ
प्रोपोगण्डा निम्त्याउँने थुप्रै तगाराहरु छन्
तिनलाई तिम्ले छिन्नुपर्छ ।

विगतका (दुई तिहाई र सामान्य बहुमतका )
सरकारहरु आफ्नै कारणले गिरेझैं
तिमी पनि गिर्यौ भने
हामीले बाध्य भएर भन्नुपर्छ
हे जनता ! अव कसैलाई बहुमत नदेउ
प्रजातन्त्र पनि कसैलाई सुम्पिदेउ
संघियता पनि हामीलाई घाँडो भयो
हाम्रो राष्ट्रीय एकता कसैलाई डाहाडो भयो ।
        गैरादह झापा

तपाईको प्रतिक्रिया