Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

भक्तपुर । शिक्षक सेवा आयोगले खुल्ला विज्ञापन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । शिक्षा विभागबाट रिक्त दरबन्दीको विवरण प्राप्त भए सँगै विज्ञापन गर्ने काम अन्तिम चरणमा पुगेको हो ।

विभागले २०७२ असोज ३ पछि २०७४ फागुन मसान्त सम्मको रिक्त दरबन्दी बिवरण उपलब्ध गराएसँगै आयोगले तयारी शुरु गरेको श्रोतले जनाएको छ । जस अनुसार प्राथमिक तहमा १० हजार र निमावि तथा माविमा गरी साढे २ हजार पदका लागि विज्ञापन गर्ने आयोगको तयारी छ ।

शिक्षा ऐनको आठौं संशोधनले गरेको विद्यालय शिक्षाको संरचना भन्दा अघिकै संरचनाका आधारमा विज्ञापनको तयारी भएको उक्त श्रोतले जनाएको छ ।

ऐनले आधारभूत र माध्यमिक तह गरी विद्यालय शिक्षाको संरचना तय गरे पनि संविधानको धारा ३०४ को ब्यवस्था अनुसार विज्ञापन गर्न लागिएको हो । उक्त धारामा संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका नेपाल कानून खारेज वा संशोधन नभए सम्म लागू रहने तर यो संविधानसँग बाझिएको कानून संघीय संसदको पहिलो अधिबेशन बसेको मितिले एब बर्ष पछि बाझिएको हद सम्म स्वतः अमान्य हुने ब्यवस्थाका आधारमा विज्ञापन गर्ने तयारी भएको श्रोतले जनायो ।

सोही आधारमा प्राथमिक तहको समेत विज्ञापन गर्न लागिएको हो । यस अघि भएको २ वटा खुला विज्ञापनमा प्राथमिक तहको विज्ञापन गरिएको थिएन ।

’आयोगले कसरी विज्ञापन गर्छ त्यो उसकै क्षेत्राधिकारको कुरा भयो’ विभागका निर्देशक केशव प्रसाद दाहालले भने, ’हाम्रा विद्यालयहरुमा प्राथमिक तहका रुपमै शिक्षकहरु कार्यरत छन्, त्यसैले प्राविको पनि विज्ञापन गर्नु पर्ने भएको हो ।’

खुल्ला विज्ञापन गरे लगत्तै रोकिएको अस्थायी शिक्षकको विज्ञापन खोल्ने आयोग श्रोतले जनाएको छ ।

आफूहरु आन्तरिक काममा रहेको आयोगका अध्यक्ष ताना गौतमले बताए ।

’विभागबाट माग भई आएको खाली दरबन्दीमा शिक्षक छनौट गर्ने हाम्रो त कामै हो, यो जारी प्रकृया हो, हामी काममै छौं’ उनले भने ’आन्तरिक काम नसकिईकन विज्ञापन कहिले खुल्छ भन्न सकिँदैन ।’

तपाईको प्रतिक्रिया