Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको उपाध्यक्षमा रुक्मिणी सेढाइले दावी गरेकी छिन् । १५ वर्ष अघिदेखि व्यवसायिक क्षेत्रमा लागेकी उनले विशेष गरी महिला व्यवसायीको पक्षमा आवाज उठाउँदै आएकी छिन् ।

केही महिनाअघि उपत्याका १८ वटा साना तथा मझौला व्यवसायीहरुको एकताबाट महासंघको स्थापना भएको हो । महासंघको पहिलो ऐतिहासिक महाधिवेशन शनिबार हुँदैछ । उनले आफू सधैं सक्रिय भएको र भोलिको दिनमा जिम्मेवारी पाए व्यवसायीको हकहितमा थप जिम्मेवार बनेर देखाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

उनी अहिले महासंघको सचिव, चाहना व्यापार संघको उपाध्यक्ष, नेपाल व्यापार संघको प्रथम सचिव हुन् । एउटै व्यक्ति तीनवटा प्रमुख संस्थामा आवद्ध भएपनि उनी भूमिकामा कमजोर नभएको बताउँछिन् । ‘सम्भवत अरु व्यक्ति म जस्तो उम्मेदवार हुनुहुन्न, मैले सबै संस्थामा बसेर पाएको अनुभवले भोलिको दिनमा महासंघलाई राम्रो बनाउँछ’ उनले भनिन् ‘ नेतृत्वले सबैको साझा मुद्धालाई सम्वोधन गर्दै जाने छ भन्नेमा विश्वास छ, सरकार र अन्य निकायसँग समझादारी गरेर व्यवसायीको दुःखमा सहयोग गरी सुखको अनुभुति दिलाउने छु ।’ उनी सर्वसम्मत हुने सम्भावना बढेको छ ।

उनले सरकारले व्यवसायीको समस्या नसुनेको, साना व्यवसायीलाई वेवास्ता गरेको , भन्सारमा सामान आयातमा दुःख दिने गरेको, घरवहाल कर व्यवसायीले तिर्नुपरेको, समय नपुग्दै घरबेटीले भाडा बढाएकोलगायतका समस्या रहेको बताएकी छिन् । ‘साँच्चै भन्ने हो भने हामीले जुन ढंगले सरकारको अर्थतन्त्रको विकासमा योगदान दिएका छौं तर हामीले त्यसको ठीक उल्टो रुपमा समस्या मात्र भोगेका छौं ’ उनले भनिन् ‘ व्यवसयीमैत्री वातावरण सिर्जना गरिनुपर्ने, व्यवसायीको सुरक्षा गरिनुपर्ने, वैज्ञानिक भाडादर लागू हुनुपर्ने माग नाजायज छैनन् तर सम्वन्धित निकायले सुन्दैन ।’ उनी व्यवसायसँग विभिन्न सामाजिक तथा शैक्षिक संघसंस्थामा समेत आवद्ध छिन् ।

महासंघको महाधिवेशनमा झण्डै ५ सय प्रतिनिधि रहने छन् । हिमालय सिमापार व्यापार संघमा पनि आवद्ध रहेकी उनले पछिल्लो समयमा जतासुकै राजनीतिले संघसंस्थालाई समस्याग्रस्त बनाएकोमा दुखेसो गरिन् । उनले महासंघ अहिलेसम्म व्यवसायीको मात्र साझा संस्था भएको र यही मान्यता कायम राख्दै अघि बढाउने समेत जनाइन् ।

तपाईको प्रतिक्रिया