Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

              डण्डिराज घिमिरे “बिबेक”

लखन ! (तारा) तिमी बेपत्ता छैनौ
तिम्रो रक्तिम इतिहासले
आज अधिकारको सगरमाथा
गाउँ गाउँमा स्थापित छ ।

अखण्ड समयको बेगमा
तिम्रा स्वर्णिम सपना
यथार्थ सर्वस्विकार्य छन् ।

यो असिम धर्तीमा
तिम्रो चेतनाको रक्तबिजले
सामन्तको साम्राज्य
अनन्त भविष्य सम्म
निरन्तर भत्काउने छ ।

लखन ! तिमी
भोकाहरुको गासमा छौ
उत्पीडितहरुको स्वासमा छौ
गौरबमय वर्तमानको
स्पन्दन स्पन्दनमा
तिमी हाम्रो साथ छौ ।

कसले भन्न सक्छ
तिमि बेपत्ता छौ भनेर
तिमी त गणतन्त्र नेपालको
जननी हौ
स्वाभिमानी वर्तमान र
समृद्धिको भविष्य हौ ।

लखन ! तिमी त महान छौ
आमूल परिवर्तनको
तिम्रो विशाल यात्रामा
काडेतार बिच्छाउनेहरुलाई
तिमीलाई ढुंगाले हान्नेलाई
तिमीले त फूलले हान्यौ ।

बैगुनीहरुलाई गुन गर्दै
गाउँ गाउँको सिंहासनमा
विराजमान गराउने
तिमी त महामानव हौ
तिमी अधिकारको सिंहदरबार हौ ।
तिमी त परिवर्तनको दर्पण हौ ।
( जनयुद्धका बेपत्ता योद्धा क. तारा रिजालको सम्झनामा )

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

लेखक

तपाईको प्रतिक्रिया