Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

                       खगेन्द्र नेउपपाने

सर ! हजुरले आफ्नु मर्यादा
कागजमा खोज्नु भो ?
सक्किनु भएछ !
तपाईंको मर्यादा त
कागजमा हैन हृदयमा हुन्छ
त्यसलाई
तपाईंले नै बचाउनु पर्छ ।

हरेक बर्षको गाईजात्रामा नौटङ्गीमा र हँस्सीमा
जोकर बनेका हुन्छन्
कागजका मर्यादाहरु ।
खोलाका गिट्टी बालुमा
गरीब जनताका तालुमा
भन्सारमा चलखेल हुने अदुवा सुपारी र आलुमा
टेबलमुनिको कर बनेका छन्
कागजका मर्यादाहरु ।
ए ! गुरु ! तपाईंले पनि कागजमा मर्यादा खोज्नु भो ?
सक्किनु भएछ ।

तपाईंलाई पनि प्रमुख अतिथिको
(पछाडी बाट गिल्ला गर्ने )
बिल्ला लाउने रोग लागेछ
कृत्रिमताको भोक जागेछ
अवसरवादले सताएछ
महत्वकाँक्षाले खाएछ
त्यसैले
तपाईंले पनि कागजमा मर्यादा खोज्नु भो ?
सक्किनु भएछ ।

कागजको मर्यादालाई
डन र धनको संरक्षण चाहिन्छ
हजारौं मनहरुले सरापे पनि
विदेशी आशिर्वाद र भट्टी भक्षण चाहिन्छ
च्यातिनासाथ समाप्त हुने
तपाईंले पनि कागजमा मर्यादा खोज्नु भो ?
सक्किनु भएछ ।

सर हजुर !
तपाईंको मर्यादा त
हजारौं हृदयमा कुँदिएको छ
त्यसलाई चम्काउनुहोस
” मेलो सल ” भन्ने बोलीमा
कति सम्मान लुकेको छ
त्यसलाई थाहा पाउनुहोस
जोगाउनुहोस
हुर्काउनुहोस
अनि मात्र तपाईंको मर्यादा महान बन्नेछ
नत्र त सबैले यसै भन्नेछन्
ए सर ! तपाईंले पनि कागजमा मर्यादा खोज्नु भो ?
सक्किनु भएछ ।

(यो अभिव्यक्ति सरकारले निकालेको मर्यादा क्रममा शिक्षक नपरेको गुनासोलाई सम्बोधन गर्न प्रस्तुत गरिएको छ )

तपाईको प्रतिक्रिया