Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

 काठमाडौं । एस्ईई (प्रवेशिका) परीक्षा दिने विद्यार्थीका लागि काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले आजबाट निःशुल्क ट्युसन पढाउन थालेको छ ।

नगरपालिकाका मेयर सन्तोष चालिसेले शिक्षाको गुणस्तर बढाउनका लागि निःशुल्क ट्युसन पढाउन थालिएको बताउनुभयो । चालिसेले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न नगरपालिकाले आगामी दिनमा पनि यस्तैखाले योजना ल्याउने पनि जनाउनुभयो ।

‘शिक्षालाई राम्रो र गुणस्तरीय बनाउने दायित्व स्थानीय तहको पनि हो त्यसैले केही नयाँ योजना अघि बढाउने छौं ’ मेयर चालिसेले भन्नुभयो ‘ नगरपालिकाले आफ्नो खर्चमा ट्युसन पढाउन लागेको हो, नगरपालिकावासीको भावनालाई सम्बोधन गरेका हौं ।’ मेयर चालिसेले आज ओख्रेनी मावि सुन्दरीजलमा निःशुल्क ट्युसनको सुरुवात भएको उद्घाटन गर्नुभयो । ओख्रेनीसहित बालसुधार मावि नयाँपाटी, गोकर्ण मावि गोकर्ण, सहयोगी मावि गोकर्ण, देवी बालसुधार मावि वालुवा, सुन्ताखानी मावि वालुवा, अरुणोदय मावि जोरपाटी, चामुण्डा मावि जोरपाटी र खगेन्द्र नवजिवन केन्द्र जोरपाटी गरी ९ वटा विद्यालयमा गणित र विज्ञान विषय पढाइने नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले जनाउनुभयो ।

‘प्रत्येक विद्यालयमा दुईजना शिक्षकले पढाउनुहुनेछ, विद्यार्थीहरुले अन्य विषय माग गरे थप कक्षा पनि चलाउँछौं ’ रिसालले भन्नुभयो ‘ स्थानिय तहलाई नै शिक्षासम्वन्धी अधिकार दिइएकाले पनि थप जिम्मेवार बनेका छौं ।’ रिसालले एस्ईई परीक्षामा मात्र आफ्नो विद्यालयबाहिर परीक्षा केन्द्र राख्दा विद्यार्थीमा मनोवैज्ञानिक त्रास हुने र नयाँ अनुभव हुने भएकाले आगामी वर्षदेखि ८ कक्षाको परीक्षामा पनि परीक्षा केन्द्र परिवर्तन गरिने तयारी भएको जनाउनुभयो । यो नगरपालिकामा ८६ वटा निजी विद्यालय छन् ।

तपाईको प्रतिक्रिया