Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

नेपालका कतिपय लोकप्रिय कलाकारले अन्तर्जातीय विवाह गरेका छन् भने कतिपय नायिकाले विदेशी नागरिकसँग विवाह गरेका छन् । अन्तर्जातीय र विदेशी नागरिकसँग विवाह गर्ने धेरैजसो नायिकाले प्रेमविवाह गरेका हुन् ।

नेपालमा बनेको पहिलो रंगीन चलचित्र कुमारीकी नायिका चैत्य देवी सिंह, नायिका सारंगा श्रेष्ठ, मनको बाँधकी नायिका सुष्मा शाही, नायिका मीना सिंह, नायिका बिपना थापा, पूर्व मिस नेपाल एवं नायिका झरना बज्राचार्य, प्रेमपिण्डकी नायिका सनी रौनियार आदिले विदेशी नागरिकसँग विवाह गरेका छन् ।

अन्तर्जातीय विवाह गर्ने धेरैजसो कलाकारले कलाकारितासँग सम्बन्धित कलाकर्मीहरूसँग नै विवाह गरेका छन् । कलाकर्मीहरू चलचित्रमा सँगै काम गर्दागर्दै माया–प्रेम बसेपछि विवाह गरेको बताउँछन् । कतिपय कलाकारले गैरचलचित्रकर्मीहरूसँग पनि अन्तर्जातीय विवाह गरेका छन् ।

चलचित्र परिवर्तनमार्फत डेब्यु गरेकी नायिका सुष्मा शाहीले गैरकलाकार टीकाराम शाहीसँग विवाह गरेकी थिइन्, तर पछि पाकिस्तानी चलचित्रमा अभिनय गर्न पाकिस्तान पुगेकी नायिका सुष्मा पाकिस्तानी निर्देशकसँग दोस्रो विवाह गरेर उतै पलायन भइन् । नायिका सुष्मा शाहीले नेपाली चलचित्र बदलिँदो आकाशमा अन्तर्जातीय विवाह गर्ने महिला पात्रकै भूमिका निर्वाह गरेकी थिइन् । नेपाल भाषाको पहिलो चलचित्र सिलुबाट नायिकाका रूपमा डेब्यु गर्ने नायिका नवीना श्रेष्ठले नेपाली सेनाका अधिकृत मदन केसीसँग विवाह गरेकी थिइन् । नायिका पूजा परियारले फोटोग्राफर सुरज चन्दसँग विवाह गरेकी थिइन् ।

उनले पछि सुरज चन्दसँग पारपाचुके गरिन भने अमेरिकामा भासिएपछि राजु लामासँग दोस्रो विवाह गरिन् । चलचित्र विश्वास र उपहारकी नायिका कृति भट्टराईले सञ्चारकर्मी रवि श्रेष्ठसँग विवाह गरिन् ।

नायिका मौसमी मल्लले आफ्ना श्रीमान् धनविक्रम मल्लसँग पारपाचुके गरी व्यापारी रवि डंगोलसँग दोस्रो विवाह गरिन् तर उनको दोस्रो विवाह पनि सफल हुन सकेन । रवि डंगोलसँग पारपाचुके गरिसकेकी मौसमी मल्ल चलचित्र क्षेत्रमै सक्रिय छिन् । त्यसैगरी टेलिचलचित्र पर्खालमार्फत ग्ल्यामरको क्षेत्रमा प्रवेश गरेकी मोडल तथा नायिका क्षितिजा शर्माले व्यवसायी विनोद शाक्यसँग विवाह गरिन् । पूर्व्मिस नेपाल तथा निर्मात्री–नायिका नेपाल माल्भिका सुब्बाले व्यवसायी रिवाज श्रेष्ठसँग अन्तर्जातीय विवाह गरिन् ।

नायिका करिश्मा केसीले चलचित्र निर्माता विनोद मानन्धरसँग विवाह गरिन् । चलचित्र कस्तुरीका निर्माता एवं कलाकार विनोदसँग करिश्माको भेट चलचित्र कस्तुरी कै छायाङ्कनका क्रममा भएको थियो । चलचित्र नाताकी नायिका गीता सुनारले चलचित्र निर्माता छवि ओझासँग र चलचित्र देवतामार्फत चलचित्रमा प्रवेश गरेकी नायिका सिर्जना बस्नेतले चलचित्र निर्माता तथा खलनायक बिजु रंजितसँग विवाह गरेका थिए ।

नायिका गीता सुनार र बिजु रंजितको वैवाहिक जीवन लामो समयसम्म चल्न सकेन, उनीहरू दुवै जनाको अल्पआयुमै निधन भयो । नायिका झरना राजभण्डारीले चलचित्र निर्माता सुनिलकुमार थापासँग अन्तरजातीय विवाह गरेकी हुन् । नेपाली चलचित्र दाइजो सानो भूमिकाबाट डेब्यु गरेकी नायिका झरना थुप्रै नेपाली चलचित्रमा अभिनय गरिसकेकी लोकप्रिय नायिका हुन् ।

अन्तर्जातीय विवाह गरेका अधिकांश कलाकारको वैवाहिक जीवन सफल छ । नायिका मेलिना मानन्धरको विवाह नायक मुकेश ढकालसँग भएको थियो । चलचित्र बलिदानकी नायिका अन्जना सुब्बाले कलाकार शैलेश श्रेष्ठसँग विवाह गरेकी थिइन । चलचित्र इलाकाकी नायिका मोनिका शर्माले नायक नवीन श्रेष्ठसँग विवाह गरेकी छिन् भने निर्मात्री एवं नायिका लक्ष्मी क्षेत्रीले निर्देशक राज शाक्यसँग विवाह गरेकी छिन् । नायिका कल्पना शाहीले कलाकार मुकेश आचार्यसँग तथा चलचित्र होस्टलकी नायिका प्रकृति श्रेष्ठले सुदीप न्यौपानेसँग अन्तर्जातीय विवाह गरेका छन् । रंगकर्मी, कलाकार एवं चलचित्र फिटकिरीका निर्देशक अनुप बरालसँग नृत्याङ्गना नायिका एवं रंगकर्मी दिया मास्केको पनि अन्तर्जातीय विवाह भएको थियो ।

जुनीबाट नायकका रूपमा चलचित्रमा प्रवेश गरेका भुवन केसीले गैरकलाकार विजया मल्लसँग विवाह गरेका थिए । पछि उनले सुस्मिता बमजनसँग दोस्रो विवाह गरे, तर भुवन केसीको दुवै विवाह सफल हुन सकेन । केसीको दुवै श्रीमतीसँग पारपाचुके भैसकेको छ । अन्तजातीय विवाह गर्ने नायकमा चलचित्र सिन्दूरको नायकका रूपमा कलिउडमा प्रवेश गरेका नायक विश्व बस्नेत पनि हुन्, जसले नाट्यकर्मी शारदा श्रेष्ठसँग विवाह गरेका थिए । विश्व बस्नेतसँग विवाहपछि कलाकार श्रेष्ठ कला क्षेत्रबाट टाढिएकी थिइन् । अन्तरजातीय विवाह गर्ने कलाकार, चरित्र अभिनेता एवं नाट्यकर्मी हरिहर शर्मा, वरिष्ठ कलाकार, निर्माता–निर्देशक मदन कृष्ण श्रेष्ठ, धीरेन शाक्य, निर्देशक युवराज लामा, चलचित्र निर्देशक पत्रकार प्रकाश सायमी आदि पनि हुन् । साप्ताहिकबाट साभार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments