Online Bichar
बुधबार, साउन ०६, २०८३ | Wednesday, July 22, 2026

काठमाडौं, ६ साउन २०८३ । फ्रान्सको संसद्ले १५ वर्षभन्दा कम उमेरका बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने व्यवस्था गर्दै नयाँ कानुन पारित गरेको छ । यससँगै फ्रान्स यस्तो प्रतिबन्ध लागु गर्ने युरोपियन युनियनको पहिलो देश बनेको बीबीसीले जनाएको छ ।

यो कानुन आगामी जनवरीदेखि लागु हुने बताइएको छ । कानुनअनुसार फ्रान्समा सामाजिक सञ्जाल प्रयोग गर्न चाहने प्रत्येक व्यक्तिले आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ ।

बालबालिकाको मानसिक स्वास्थ्यप्रति बढ्दो चिन्तालाई सम्बोधन गर्ने उद्देश्यले यो कानुन ल्याइएको बताइएको छ । बेलायत र युरोपेली संघले पनि बालबालिकाको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी आफ्नै सीमा र नियमहरू तयार गरिरहेको बताइएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले संसद्‌बाट कानुन पारित भएकोमा स्वागत गरेका छन् । उनले यसअघि आफ्नो कार्यकाल समाप्त हुनुअघि यस्तो कानुन ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यद्यपि, यो कानुनको व्यावहारिक कार्यान्वयनबारे केही पक्षले शंका व्यक्त गरेका छन् । तर, सरकारले उमेर प्रमाणीकरणका लागि प्रयोग गरिने अनलाइन प्रणाली प्रभावकारी र सुरक्षित हुने दाबी गरेको छ ।

केही वामपन्थी नेताहरूको आलोचनाका बाबजुद फ्रान्सेली सिनेट र नेसनल एसेम्ब्लीले मंगलबार यो विधेयक पारित गरेका हुन् ।

यो प्रतिबन्ध दुई चरणमा लागु हुने बताइएको छ । आउँदो सेप्टेम्बरदेखि १५ वर्षभन्दा कम उमेरका बालबालिकाले नयाँ सामाजिक सञ्जाल खाता खोल्न पाउने छैनन् ।

साथै, सबै नयाँ खाताका लागि उमेर प्रमाणीकरण अनिवार्य हुनेछ । जनवरी २०२७ देखि यो नियम पहिलेदेखि सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाल खातामा पनि लागु हुने उल्लेख छ । त्यसपछि फ्रान्समा सामाजिक सञ्जाल प्रयोग गर्न चाहने सबै प्रयोगकर्ताले आफू १५ वर्षभन्दा माथिको भएको प्रमाण पेस गर्नुपर्नेछ ।

प्रतिबन्ध लागु भएपछि सामाजिक सञ्जाल प्लेटफर्महरूले फ्रान्सेली गोपनीयता नियामक निकायबाट स्वीकृत उमेर प्रमाणीकरण प्रणाली प्रयोग गर्नुपर्ने रोयटर्स समाचार एजेन्सीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया