काठमाडौं, ३ भदौ २०८३ । चीनले पहिलोपटक जुक्वे–३ रकेटको पहिलो चरण ९भाग०लाई जमिनमा सफलतापूर्वक फिर्ता अवतरण गराएको छ ।
यसअघि जुलाईमा उसले रकेटको पहिलो चरणलाई समुद्रमा फिर्ता ल्याउन सफल भएको थियो । पुनः प्रयोग गर्न सकिने यो प्रविधिमार्फत चीन स्पेसएक्सलाई टक्कर दिने तयारीमा छ भन्ने विश्लेषण भएको छ ।
चीनले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई थप अगाडि बढाउन पुनः प्रयोग गर्न सकिने रकेट प्रविधिको विकास गरिरहेको छ । जमिनमा रकेटको पहिलो चरणलाई फिर्ता अवतरण गराउनु चीनको पहिलो सफल प्रयास हो ।
तर, रकेटको कुनै हिस्सालाई पुनः प्राप्त गर्ने यो चीनको दोस्रो सफलता मानिएको छ । यसअघि जुलाईमा समुद्रमा बनाइएको एउटा प्लेटफर्ममा रकेटको पहिलो चरणलाई सफलतापूर्वक अवतरण गराइएको थियो ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, पुनः प्रयोग गर्न सकिने जुक्वे–३ रकेटलाई बुधबार बिहान प्रक्षेपण गरिएको थियो । त्यसपछि रकेटको पहिलो चरणलाई सफलतापूर्वक फिर्ता अवतरण गराइएको थियो ।
चीनले किन विकास गर्यो यो प्रविधि ?
एलन मस्कको कम्पनी स्पेसएक्स र जेफ बेजोसको कम्पनी ब्लु ओरिजिनले सन् २०१५ देखि रकेटका पहिलो चरणलाई फिर्ता अवतरण गराउँदै आएका छन् ।
यस प्रविधिले रकेटका ती भागलाई पुनः प्रयोग गरेर अन्तरिक्षमा उपग्रह तथा अन्य सामग्री पठाउने लागत घटाउन मद्दत गरेको छ । यसअघि यी भागलाई एकपटक प्रयोग गरेपछि फ्याँक्ने गरिन्थ्यो ।
सिन्ह्वाका अनुसार, बुधबार रकेटलाई फिर्ता अवतरण गराउने क्रममा चीनले पहिलोपटक फोल्ड गर्न सकिने ‘ल्यान्डिङ लेग’ प्रयोग गरेको थियो । एजेन्सीले यसलाई पुनः प्रयोग गर्न सकिने रकेट प्रविधिको क्षेत्रमा चीनको ठूलो सफलताका रूपमा वर्णन गरेको छ ।
समुद्रमा कसरी फिर्ता ल्याइएको थियो रकेट ?
जुलाई १० मा ‘लङ मार्च–१०बी’ रकेटको पहिलो चरण उडानपछि दोस्रो चरणबाट अलग भएको थियो । त्यसपछि पहिलो चरण समुद्रमा बनाइएको एउटा प्लेटफर्ममा फिर्ता आएको थियो । त्यस क्रममा रकेटलाई जालीले समात्ने प्रणाली प्रयोग गरेर पुनः ण्प्राप्त गरिएको थियो ।
त्यसको भोलिपल्ट, जुलाई ११ मा जापानले पनि पुनः प्रयोग गर्न सकिने एक प्रयोगात्मक रकेटको पहिलो परीक्षण उडान गरेको थियो । रकेटले उडान भरेपछि सुरक्षित रूपमा जमिनमा अवतरण गर्न सफल भएको थियो ।
जापान पनि रकेट पुनः प्रयोग गर्ने प्रविधि विकास गर्ने प्रयासमा छ । यसको उद्देश्य अन्तरिक्षमा रकेट प्रक्षेपणको लागत घटाउनु र विश्वको अन्तरिक्ष बजारमा अन्य ठूला शक्तिसँग प्रतिस्पर्धा गर्नु हो ।






