झापा, ३ मंसिर २०८३ । झापाको बाह्रदशी गाउँपालिका–५ खटखटी टोलमा धान काट्ने मेसिन र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।
मंगलबार राति करिब १०ः४० बजे राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–३ निवासी २० वर्षीय गोपाल ताजपुरिया र बाह्रदशी–२ निवासी १७ वर्षीय अशोक राजवंशी रहेका छन् । गोपाल मोटरसाइकलको पछाडि सवार थिए भने अशोकले मोटरसाइकल चलाएका थिए ।
दुर्घटनापछि धान काट्ने मेसिन छाडेर चालक फरार भएका छन् । प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी गरिरहेको जनाएको छ ।
मृतक दुवैको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।






