Online Bichar
बुधबार, भाद्र ०३, २०८३ | Wednesday, August 19, 2026

काठमाडौं, ३ भदा २०८३ । नेपाल प्रहरीले अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाहीलाई तीव्र पारेको छ । आर्थिक वर्ष २०८२/०८३ मा अनलाइन बेटिङमा संलग्न ४८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमध्ये २६ जना विदेशी नागरिक र २२ जना स्वदेशी नागरिक छन् ।

अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा अनलाइन बेटिङमा संलग्न ९३ विदेशी नागरिकसमेत गरी जम्मा १४८ जना पक्राउ परेका थिए। आर्थिक वर्ष २०८०/०८१ मा अनलाइन बेटिङमा संलग्न १३ जना विदेशी नागरिकसमेत ६२ जना पक्राउ परेका थिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहेको अवस्थामा विभिन्न अनलाइन बेटिङ प्लेटफर्महरू धेरै सक्रिय हुने गरेको अनुसन्धानका क्रममा पाइएको छ ।

पछिल्लो समय अनलाइन बेटिङ र क्रिप्टोकरेन्सीका कारोबार बढिरहेको हुँदा त्यस्ता किसिमका गतिविधि नियन्त्रण गरी संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरीले विशेष अभियान नै सञ्चालन गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले अनलाइन बेटिङ नेटवर्क एवं क्रिप्टोकरेन्सी कारोबार नियन्त्रण गर्न सूचना सङ्कलन र निगरानीलाई विशेष प्राथमिकतामा राखी प्रहरीले काम गर्दै आइरहेको बताए । “सट्टेबाजी हुने संभावित स्थान, गिरोह र व्यक्तिको बारेमा गोप्य सूचना संकलन, अनलाइन सट्टाबाजी (विशेष गरी खेलकुद बेटिङ) मा संलग्न नेटवर्कको डिजिटल निगरानी एवं बैंकिङ तथा डिजिटल वालेटमार्फत हुने कारोबारको निगरानीमा समेत प्रहरीले थप संवेदनशील भई कार्य गर्दै आइरहेको छ”, उनले भने।

मुलुकी अपराध संहिता, २०७४, मा सट्टाबाजीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएमा प्रयोग भएको बिगो जफत गरी कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र रु १० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

यस्तै, क्रिप्टोकरेन्सीमा संलग्नलाई मुलुकी अपराध संहिता (संशोधन सहित), २०७४ मा अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुर, बिगो र सोबाट बढाइएको सम्पत्तिसमेत जफत गरी पाँच वर्षसम्म कैद र बिगोबमोजिम जरिवाना हुने व्यवस्था छ । रासस

तपाईको प्रतिक्रिया