काठमाडौं, १४ साउन २०८३ । जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको बोदेबरसाइन नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । शान्ति, सुरक्षा कायम राख्न भन्दै प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कर्फ्यु आदेश जारी गरेका हुन् ।
जिल्ला सुरक्षा समितिको बिहीबारको बैठकको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९क० बमोजिम कर्फ्यु लागु गरिएको थापाले उल्लेख गरेका छन् ।
आज राति १०:०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि बोदेबरसाइन नगरपालिका क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।
बोदेबरसाइन नगरपालिकाको सीमा पूर्वमा हुलाकी राजमार्गको खडक पुल, पश्चिममा प्रितमपुर चोक, उत्तरमा नेगडा चोक र दक्षिणमा मानराजा चोकसम्म कर्फ्यु आदेश जारी गरिएको हो ।
कर्फ्यु आदेश उल्लंघन गरी कुनै पनि प्रकारका गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।






