Online Bichar
बुधबार, साउन १३, २०८३ | Wednesday, July 29, 2026

विराटनगर, १३ साउन २०८३ । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा आइतबार राति भएको हिंसात्मक झडपपछि सशस्त्र प्रहरीले चलाएको गोलीबाट घाइते भएका नौ जनाको विराटनगरका तीनवटा अस्पतालमा उपचार भइरहेको छ।

उपचाररतमध्ये तीन जनाको अवस्था गम्भीर छ। उनीहरूको भेन्टिलेटरमा उपचार भइरहेको छ। अन्यको शल्यक्रियापछि स्वास्थ्यमा क्रमिक सुधार देखिएको अस्पतालहरूले जनाएका छन्। सशस्त्र प्रहरीको गोली लागेर देवानगन्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। गोली लागेपछि उनलाई उपचारका लागि आइतबार राति विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याइएको भए पनि राति ११:२५ बजेतिर चिकित्सकले मृत घोषणा गरिदिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बताए।

हालस् न्युरो अस्पतालमा चार जना घाइते उपचाररत छन्। देवानगन्ज-४ का १८ वर्षीय मिथिलेश मेहताको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो । शल्यक्रियामार्फत गोली निकालिएका उनी आईसीयूमा उपचाररत छन्। अस्पतालका अनुसार उनको अवस्था मध्यम छ।

त्यसै, अस्पतालमा उपचाररत देवानगन्ज-४ का २२ वर्षीय हरेराम यादवको दुवै तिघ्राको बीच भागमा गोली लागेको थियो । शल्यक्रियापछि उनको अवस्था सामान्य रहेको छ। देवानगन्ज-३ का १८ वर्षीय अमलेश मेहताको बायाँ पिठ्युँमा लागेको गोली पनि शल्यक्रियामार्फत निकालिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

देवानगन्ज-३ का २२ वर्षीय जयप्रकाश मेहताको भने अवस्था अझै गम्भीर छ। पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो। उनको शल्यक्रिया सम्पन्न भए पनि हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
विराट नर्सिङ होममा पनि चार जना घाइते उपचाररत छन्। देवानगन्ज-३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको बायाँ तिघ्रामा गोली लाग्दा नसामा गम्भीर क्षति पुगेको थियो। नसाको शल्यक्रियापछि पनि अवस्था चिन्ताजनक रहेकाले उनलाई भेन्टिलेटरमा राखिएको छ।

देवानगन्ज-३ का २५ वर्षीय सुनील मेहताको बायाँ घुँडामुनिको पछाडिको भागमा गोली लागेको छ। उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। देवानगन्ज-४ का १८ वर्षीय अमितकुमार यादवको कम्मरको अगाडिबाट प्रवेश गरेको गोली पछाडिबाट निस्किएको अस्पतालले जनाएको छ। सफल शल्यक्रियापछि उनको अवस्था सामान्य रहेको छ।

देवानगन्ज-४ का २६ वर्षीय सुनील मेहताको बायाँ हातको कुहिनामा गोली लागेको छ। उनको अवस्था सामान्य भए पनि शल्यक्रिया हुन बाँकी रहेको जानकारी अस्पतालले दिएको छ। विराट नर्सिङ होममा उपचाररत चार जनामध्ये तीन जनाको शल्यक्रिया सम्पन्न भइसकेको छ। एक जनाको मात्रै शल्यक्रिया हुन बाँकी रहेको हो।

नोबेल शिक्षण अस्पतालमा देवानगन्ज-३ का १८ वर्षीय अमित यादव उपचाररत छन्। उनको बायाँ हात र कोखामा गोली लागेको थियो। अस्पतालका अनुसार शल्यक्रिया गरेर गोली निकालिए पनि अवस्था गम्भीर छ। उनको भेन्टिलेटरमा उपचार भइरहेको छ।

डीएसपी खड्काका अनुसार घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका थिए। गोलीकाण्डपछि सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट तथा व्यक्ति लक्षित आक्रमणका घटना भए। स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरे पनि सोमबार र मंगलबार तनावपूर्ण अवस्था कायम रहेको थियो। बुधबारदेखि अवस्था क्रमशः सामान्य बन्दै गए पनि जिल्लाको सुरक्षा व्यवस्था भने कडा पारिएको छ।अन्नपूर्णपोष्टबाट

 

तपाईको प्रतिक्रिया