काठमाडौं, १३ साउन २०८३ । अमेरिका र साउदीले इराकमा गरेको आक्रमणमा आठजनाको मृत्यु भएको छ । साउदी अरेबियाका तेल पूर्वाधारहरूमा ड्रोन आक्रमण गरेको आरोपमा अमेरिका र साउदीले बुधबार इराकमा रहेको इरान–समर्थित समूह ‘पपुलर मोबिलाइजेसन फोर्सेस’विरुद्ध आक्रमण गरेका थिए ।
अमेरिकी सेन्ट्रल कमान्ड र साउदी रक्षा मन्त्रालयले संयुक्त रूपमा पूर्वी इराकका विभिन्न स्थानमा आक्रमण गरेको पुष्टि गरेका छन् । साउदी रक्षा मन्त्रालयले आफू तनाव बढाउने पक्षमा नरहे पनि कुनै पनि आक्रमणको उचित जवाफ दिने स्पष्ट पारेको छ ।
इराकको पपुलर मोबिलाइजेसन फोर्सेसले बुधबार अमेरिका र साउदी सेनाले आफ्नो मुख्यालयहरूमा आक्रमण गरेको जनाएको छ । प्रारम्भिक विवरणमा आठजना पपुलर मोबिलाइजेसन फोर्सेसका सदस्यहरुको मृत्यु भएको, चारजना घाइते भएको र आफ्ना भवन संरचनामा क्षति पुगेको उल्लेख गरिएको छ ।
द्वन्द्व अझ चर्किन सक्ने चिन्ताका बीच अमेरिका र साउदीको आक्रमणपछि बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल तीन डलरभन्दा बढीले बढेको छ ।






