काठमाडौं, १० साउन २०८३ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ गरिएको विषयमा प्रहरीले सार्वजनिक रूपमा जानकारी गराएको छैन । शिक्षा मन्त्रालय स्रोतले भने दुईजनालाई सोधपुछका निम्ति नियन्त्रणमा लिइएको जनाएको छ ।
प्रहरी एक उच्च स्रोतले पनि प्रश्नपत्र ‘आउट’ गर्नेमाथिको अनुसन्धान तीव्र पारिएको र केही व्यक्तिलाई नियन्त्रणमा लिइएको बतायो । प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षामन्त्री सस्मित पोखरेल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच पनि छलफल भएको स्रोतको भनाइ छ ।
त्रिवि व्यवस्थापन संकाय डिनको कार्यालयले लिएर मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षाकै समयमा बाहिरिएको घटना सार्वजनिक भएको थियो । आइतबार ९साउन १०० दुईजनालाई नियन्त्रणमा लिइएको हो ।
यही साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सत्रको एक विषयको परीक्षा चलिरहेकै समयमा प्रश्नपत्र सामाजिक सञ्जाल तथा ह्वाट्सएप ग्रुपमार्फत सार्वजनिक भएको थियो ।
‘एमबीएस फर्स्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप ग्रुपमा परीक्षा सुरु भएको पाँच मिनेटमै प्रश्नपत्र पठाइएको खुलेको छ । परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिरिएको भन्दै फेसबुक पेज ‘टीयू स्टुडेन्ट्स’ले त्रिविको ध्यानाकर्षण गराएको थियो ।






