झापा, ९ साउन २०८३ । झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूली चोकबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार गोप्य सूचनाको आधारमा शुक्रबार राति करिब ११ बजे खटिएको प्रहरी टोलीले बिर्तामोड–२ निवासी २४ वर्षीय प्रवेश सहनीको टिनले बारिएको गोठमा छापा मारेको थियो।
प्रहरीले सो स्थानमा रहेका २४ वर्षीय प्रवेश सहनी र २५ वर्षीय किरण शर्मालाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर बरामद गरेको जनाएको छ।
बरामद पदार्थलाई मान्यता प्राप्त तराजुमा तौल गर्दा प्लास्टिकसहित ५ ग्राम २०० मिलिग्राम र प्लास्टिकबाहेक २ ग्राम ८४० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






