Online Bichar
आइतबार, साउन १०, २०८३ | Sunday, July 26, 2026

काठमाडौं, १० साउन २०८३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षको अवधिमा ३३ हजारभन्दा बढी उजुरी परेका छन् ।

अख्तियारले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा ती उजुरी परेका हुन् । गत आर्थिक वर्ष अख्तियारमा ३३ हजार ३२८ वटा उजुरी परेका थिए ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ बाट जिम्मेवारी सरेर आएका ७ हजार ३२३ वटा उजुरी सहित आर्थिक वर्ष २०८२र८३ मा कुल ४० हजार ६५१ वटा उजुरी अख्तियारले हेरेको थियो ।

अख्तियारमा परेका उजुरीहरूमध्ये सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित ४८.९६ प्रतिशत थिए । यस्तै, संघअन्तर्गत ३८ प्रतिशत र प्रदेश सरकारसँग अन्तर्गत १३।०४ प्रतिशत रहेको अख्तियारले विवरणमा उल्लेख छ ।

उजुरी प्राप्त हुने विभिन्न माध्यमहरूमध्ये सबैभन्दा बढी आयोगको वेबसाइटबाट ३०.९१ प्रतिशत, इमेलमार्फत २७.०२ प्रतिशत, लिखित निवेदनबाट २१.७४ प्रतिशत, हुलाक सेवाबाट १२.८७ प्रतिशत तथा अन्य माध्यमहरू टेलिफोन, सामाजिक सञ्जाल, मोबाइल एप, समाचार पत्र, राष्ट्रिय सतर्कता केन्द्र र हेलो सरकार समेतबाट ७.४६ प्रतिशत उजुरीहरू परेका थिए ।

“आयोगमा प्राप्त भएका ४० हजार ६५१ उजुरीमध्ये छानबिन तथा अनुसन्धानबाट ३२ हजार ७९९ (८०.६८ प्रतिशत) उजुरी फर्छ्योट भएको र बाँकी ७ हजार ८५२ चालु आर्थिक वर्ष २०८३/८४ मा जिम्मेवारी सरेर आएको छ,” अख्तियारले भनेको छ ।

तपाईको प्रतिक्रिया