Online Bichar
शनिबार, जेठ ३०, २०८३ | Saturday, June 13, 2026

काभ्रेपलाञ्चोक, २९ जेठ २०८३ । बीपी राजमार्गअन्तर्गत नमोबुद्ध–२ बुच्चाकोटमा भएको यात्रुवाहक बस दुर्घटनाको ८ जना मृतकमध्ये ४ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार बस दुर्घटनामा मृत्यु हुने आठमध्ये चार जनाको सनाखत भएको छ ।

जसमा बसका साहु रोशी गाउँपालिका–६ का ७५ वर्षीय इन्द्रबहादुर झाक्री र दैलेख घर भएका नेपाली सेनाका अमलदार बमबहादुर भण्डारीको परिचय खुलेको छ ।

यस्तै, दुई जना अन्य पहिचान खुलेका मृतकमा रोशी–७ का ३४ वर्षीया फूलमाया तामाङ र रोशी–८ का ६० वर्षीया प्यारीमाया तामाङको रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अन्य चार जनाको भने सनाखत हुन सकेको छैन । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको डीएसपी विष्टले जानकारी दिएका छन् ।

शुक्रवार दिउँसो बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेको बस अर्को बसलाई साइड दिने क्रममा अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया