झापा, २९ जेठ २०८३ । झापाको कचनकवल गाउँपालिका–५ पाठामारीस्थित नेपाल–भारत सीमाक्षेत्रमा संयुक्त सीमा गस्ती गरिएको छ।
शुक्रबार बिहान १०ः३० बजे सीमा स्तम्भ नम्बर ११४ नजिकबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती टोली परिचालन भएको हो।
प्रहरी चौकी पाठामारी, बीओपी पाठामारी तथा भारतीय सुरक्षा निकायको सहभागितामा सञ्चालन गरिएको संयुक्त गस्तीका क्रममा दशगज्जा क्षेत्रमा रहेको सुनकोशी चिया बगानका करिब ६० देखि ६५ वटा चियाका बोट हटाइएको जनाइएको छ।
सीमाक्षेत्रको संरक्षण, अतिक्रमण नियन्त्रण तथा सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउन नियमित रूपमा नेपाल र भारतका सुरक्षा निकायबीच संयुक्त गस्ती सञ्चालन हुँदै आएको छ। शुक्रबारको गस्तीका क्रममा दशगज्जा क्षेत्र खाली गराउने उद्देश्यले उक्त चियाका बोट हटाइएको सुरक्षा स्रोतले जनाएको छ।






