झापा, २९ जेठ २०८३ । नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी द्विपक्षीय फिल्ड कार्य अन्तर्गतको समन्वय बैठक झापामा सम्पन्न भएको छ।
नापी विभाग, सीमा शाखा काठमाडौंको आयोजनामा झापाको बिर्तामोड नगरपालिका–३ स्थित किङ्सबेरी होटलको सभाहलमा शुक्रबार(आज) बिहान करिब १०ः४५ बजे बैठक सम्पन्न भएको हो।
बैठकमा नेपाल र भारतबीचको सीमा सम्बन्धी फिल्ड सर्भे, व्यवस्थापन तथा समन्वयका विषयमा छलफल गरिएको जनाइएको छ।
कार्यक्रममा भारत बिहार राज्य किशनगन्ज जिल्लाका मेजिस्ट्रेट DM विशाल राज, भारतीय सीमा सुरक्षा बल SSB लगायत भारतीय सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको थियो।
नेपालतर्फबाट ताप्लेजुङ, पाँचथर, इलाम र झापाका प्रमुख जिल्ला अधिकारीका प्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जिल्ला प्रमुख, साथै जिल्ला वन कार्यालयका प्रमुखसहित करिब ५० देखि ६० जनाको उपस्थिति रहेको थियो।
द्विपक्षीय सहकार्य, सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा फिल्ड सर्भे कार्यलाई सहज बनाउन बैठक आयोजना गरिएको नापी विभागले जनाएको छ।






