काठमाडौं, २५ जेठ २०८३ । नेपालले अपराजित रहँदै एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ ।
सोमबार सिंगापुर नेस्नल क्रिकेट ग्राउन्डमा वर्षाले प्रभावित फाइनलमा नेपालले डकवर्थ लुईस पद्दति (डीएलएस) का आधारमा १९ रनले पराजित गरेको हो ।
हङकङले प्रस्तुत गरेको १८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा दुई विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो ।
त्यसपछि वर्षा नरोकिँदा नेपाललाई डीएलएसका आधारमा विजयी घोषणा गरिएको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रनको इनिङ खेले । उनले ४० बलमा आठ चौका र तीन छक्का प्रहार गरे । रोहितकुमार पौडेलले अविजित ३५ रन बनाए ।
कुशल र रोहितले दोस्रो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८८ रनको योगफल तयार पारेको थियो ।
हङकङका अन्शुमन रथले सर्वाधिक ८० रनको इनिङ खेले । उनले ४५ बलमा ६ छक्का र ६ चौका प्रहार गरे । शाहिद वासिफले ५५ रन जोडे उनले २८ बलमा सात चौका र तीन छक्का प्रहार गरे ।
शिव माथुरले २६ रन बनाए । पाँचौँ विकेटका लागि अन्शुमन र शिवले ८४ रनको साझेदारी गरेका थिए ।
नेपालका शेर मल्लले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए । करण केसीको नाममा दुई विकेट रहँदा सन्दीप लामिछानेले एक विकेट हात पारे ।






