काठमाडौं, २ जेठ २०८३ । ओपनर कुशल भुर्तेलको शतकप्रेरित नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध सानदार जित निकालेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अमेरिकाले प्रस्तुत गरेको १९६ रनको लक्ष्य पछ्याएको घरेलु टोलीलले ३६.४ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा तीन खेलपछि प्लेइङ ११ मा पुनरागमन गरेका ओपनर कुशल भुर्तेलको शतकीय पारी निर्णायक रह्यो ।
भुर्तेलले १२० रनको शतकीय पारी खेले । उनले ११८ बलमा १३ चौका र चार छक्का प्रहार गरे । भुर्तेलले पहिलो विकेटको निम्ति ओपनर आशिफ शेखसँग १४५ रनको शतकीय साझेदारी गरेका थिए । भुर्तेलको यो एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो अर्धशतक हो ।
उनले यसअघि सन् २०२३ मा लिग–२ अन्तर्गतै त्रिवि रंगशालामा नामिबयाविरुद्ध ११५ रन बनाउँदै पहिलो शतक दर्ता गरेका थिए । आशिफ शेखले ५८ रनको अर्धशतकीय पारी खेले । आशिफले ७२ बलमा आठ चौका प्रहार गरे । २६.३ ओभरमा पभेलियन फर्किएपछि, यी दुईबीचको शतकीय साझेदारी तोडिएको थियो ।
इशान पाण्डेले २० रन बनाए । इशानले पनि आज अमेरिकाविरुद्ध खेल्दै नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका छन् । त्यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले घरेलु टोलीविरुद्ध ४३.३ ओभरमा सबै विकेट गुमाएर १९५ रनको योगफल खडा गरेको थियो ।
अमेरिकाका निम्ति ओपनर स्मित पटेलले ८३ रनको अर्धशतकीय पारी खेले । ८९ बल खेलेको पटेलले आठ चौका र तीन छक्का प्रहार गरे । उनले दोस्रो विकेटको निम्ति शेहन जयसूर्यासँग १०० रनको शतकीय साझेदारी गरेका थिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शेहन जयसूर्याले ५० रन बनाउँदै टोलीको निम्ति दोस्रो अर्धशतक प्रहार गरे ।
जयसूर्याले ५२ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । २२.४ ओभरमा उनी पभेलियन फर्किएपछि, यी दुईबीचको शतकीय साझेदारी तोडिएको थियो । मिलिन्द कुमारले २८ रन बनाउँदा अविजित रहेका हर्मित सिंहले १४ रन बनाए । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
ओपनर शयन जागिंरले ६ रन बनाए । गत बुधबार सम्पन्न स्कटल्यान्डविरुद्धको खेलमा शतकीय पारी खेलेका कप्तान साइतेजा मुकामालाले चार रन मात्र बनाउनसके । शुभम रञ्जानेले दुई रन मात्र जोड्न सके । नोस्थुज केनिजगे र सञ्जय कृष्णमूर्थी समान एक रन बनाएर पभेलियन फर्किए ।
महोम्मद मोहसीन ‘डक’ आउट भए । अविजित रहेका शौरभ नेत्रावल्करले कुनै पनि रन जोड्न सकेनन् । नेपालका दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । ७.३ ओभर बलिङ गरेका ऐरीले २४ रन खर्चिए । उनको इकोनोमी ३.३० रह्यो । सोमपाल कामीले दुई विकेट लिँदा सन्दीप लामिछाने र गुल्सन झाले एक विकेट लिए ।
जितसँगै नेपालले श्रृंखलाको पहिलो जित निकाल्दै प्रतियोगितामा लिग–२ मा नवौँ जित दर्ता गरेको छ । २० अंक जोडेको घरेलु टोलीले हालसम्म २६ खेल खेल्दा नौ जित र १५ हार व्यहोरेको छ । टोलीको दुई खेल भने रद्द भएको थियो । अमेरिकाले भने श्रृंखलामा लगातार दोस्रो हार व्यहोरेको छ ।
नेपाललाई हराउँदै शीर्ष स्थानमा उक्लने अवसर गुमाएको अमेरिका हारका बाबजुद तालिकाको दोस्रो स्थानमा छ । ३६ अंक जोडेको अमेरिकाले प्रतियोगितामा २६ खेल खेल्दा १८ जित र आठ हार व्यहोरेको छ । गत बिहीबार भएको श्रृंखलाको पहिलो खेलमा स्कटल्यान्डसँग डीएलएस प्रणालीका आधारमा दुई रनको हार व्यहोरेको थियो ।





