काठमाडौं, १४ वैशाख २०८३ । सुकुम्वासी बस्ती स्थानान्तरणका कारण विद्यार्थीहरू शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यसहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ६ बुँदे ‘सर्कुलर’ जारी गरेका छन्।
मन्त्रीको निर्देशनपछि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बस्ती स्थानान्तरणका क्रममा विद्यार्थीहरूको पढाइ, परीक्षा व्यवस्थापन र विद्यालय समन्वयलाई प्रभावकारी बनाउन स्थानीय तहहरूलाई विभिन्न निर्देशन दिएको हो।
केन्द्रले प्रभावित विद्यार्थीलाई नजिकैका पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न सहजीकरण गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ। विशेषगरी कक्षा–१२ को परीक्षा सुरु भइसकेको अवस्थामा परीक्षार्थीलाई परीक्षा केन्द्रसम्म सहज पहुँच सुनिश्चित गर्न र आवश्यक परे वैकल्पिक व्यवस्था मिलाउन जोड दिइएको छ।
यस्तै, विद्यालय नै प्रभावित भएका स्थानमा अस्थायी वा वैकल्पिक कक्षाको व्यवस्था गर्न पनि निर्देशन दिइएको छ। साथै, सुकुम्वासी बस्तीका विद्यार्थी तथा विद्यालयसँग सम्बन्धित कुनै समस्या, गुनासो वा सुझाव भए शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउन मन्त्रालयले स्थानीय तहहरूलाई आग्रह गरेको छ।
मन्त्रालयले यस सर्कुलरमार्फत स्थानान्तरण प्रक्रियामा विद्यार्थीहरूको शैक्षिक निरन्तरता सुनिश्चित गर्न जोड दिएको छ।






