Online Bichar
आइतबार, बैशाख १३, २०८३ | Sunday, April 26, 2026

काठमाडौं, १३ वैशाख २०८३ । काठमाडौं उपत्यकाका तीन स्थानमा सुकुम्वासी बस्तीमा डोजर चलाइएपछि घरबारविहीन भएका परिवारहरू दर्ता प्रक्रियाका लागि सरकारको सम्पर्कमा आउन थालेका छन्।

दशरथ रंगशालामा अस्थायी रूपमा सञ्चालन गरिएको दर्ता केन्द्रमार्फत सुकुम्वासी परिवारहरूको विवरण संकलन भइरहेको छ। काठमाडौं उपत्यका विकास प्राधिकरण र वाग्मती सभ्यता एकीकृत विकास समितिले संयुक्त रूपमा विवरण संकलन गरिरहेका छन्।
वाग्मती सभ्यताका आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार थापाथली, गैरीगाउँ र मनोहराका गरी हालसम्म ४३२ परिवार सरकारको सम्पर्कमा आएका छन्।

तथ्यांकअनुसार थापाथलीमा बसोबास गर्दै आएका १३२ परिवारमध्ये ३४ परिवार मात्र सम्पर्कमा आएका छन्। गैरीगाउँमा १६२ परिवार बसोबास गर्दै आएका थिए भने मनोहरा क्षेत्रमा ७७७ परिवार रहेको विवरण छ।
तीनै स्थानमा सुकुम्वासी बस्ती हटाउने अभियानअन्तर्गत शनिबार थापाथली र गैरीगाउँमा डोजर चलाइएको थियो भने मनोहरा क्षेत्रमा अहिले पनि हटाउने कार्य जारी छ।

यसैबीच, धेरै परिवारहरूले स्वेच्छिक रूपमा बस्ती छोडेका छन् भने सम्पर्कमा आएका परिवारलाई अस्थायी रूपमा विभिन्न स्थानमा व्यवस्थापन गरिएको छ।

काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख एसपी विष्णु जोशीका अनुसार सम्पर्कमा आएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण र आधारभूत व्यवस्थापनको काम भइरहेको छ।

शनिबार मात्रै २३२ जनालाई राधास्वामी सत्संग व्यास आश्रममा लगिएको थियो, जसमा १३२ जनाले त्यहीँ आश्रय लिएका छन्। त्यस्तै, बालाजु क्षेत्रका होटलहरूमा १११ जनालाई राखिएको महानगरले जनाएको छ।
जोशीका अनुसार सबै सुकुम्वासीहरू सरकारी सेल्टरमा बस्न तयार नभएको र केही आफन्तकहाँ जाने भन्दै बाहिरिएको कारण आवागमन निरन्तर भइरहेको छ।

सरकारले वास्तविक सुकुम्वासी र सार्वजनिक जग्गा अतिक्रमण गर्ने व्यक्तिहरू छुट्याउने प्रक्रिया अघि बढाइरहेको जनाएको छ। वास्तविक सुकुम्वासीलाई आवश्यक व्यवस्था र भविष्यमा जग्गा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाइएको छ।बाह्रखरीबाट

तपाईको प्रतिक्रिया