काठमाडौं, ७ वैशाख २०८३ । सरकारले विश्वविद्यालयहरूमा दलीय विद्यार्थी तथा कर्मचारी संगठन खारेज गर्ने आफ्नो अडान कायमै राखेको छ ।
मन्त्रिपरिषद्बाट स्वीकृतशासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा ८६ अनुसार विश्वविद्यालय हाताभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचनाहरू ६० दिनभित्र हटाइने र ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ जस्ता वैकल्पिक संयन्त्र विकास गरिने व्यवस्था गरिएको छ ।
यस निर्णयलाई कार्यान्वयन गर्न प्रधानमन्त्री बालेनले सोमबार पुनः निर्देशन दिएका छन् । सिंहदरबारमा बोलाइएका विश्वविद्यालयका उपकुलपतिहरूसँगको छलफलमा उनले दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कार्यान्वयन गर्न कडाइका साथ निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीसमेत कुलपति रहेका बालेनले विश्वविद्यालयहरूलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउँदै शैक्षिक वातावरण सुधार गर्ने लक्ष्यसहित उक्त निर्णय कार्यान्वयनमा लैजान जोड दिएका छन् ।






